सुदूर नेपाललाई विश्वसँग जोड्दै

भारतमा हुने चोरीमा सुदूरपश्चिमका दर्जनौ गिरोह सक्रिय, कानुनी अड्चनले सजिलै उन्मुक्ती

२०७६ असार २२, ०७:१३ नवराज पनेरु

गत बर्ष चैतमा भारतको राजस्थानमा काम गर्दै आएका दशरथचन्द नगरपालिका ४ घर भएका ३२ बर्षीय निरजबहादुर चन्द बैतडी स्थीत घरबाटै पक्राउ परे। चन्दलाई बैतडी प्रहरीले पक्राउ गर्नु भन्दा ७ दिन अगाडी अत्तरियाबाट कैलाली प्रहरीले पक्राउ गरेको थियो। पक्राउ परेका चन्दलाई तीन दिन सम्म हिरासतमा राख्दै नक्कली अभिभावक बनाएर कैलाली प्रहरीले छोड्यो। चन्दलाई छोड्दा जिल्ला प्रहरी कार्यालय कैलालीका लेखापालले चन्दसंग २३ लाख ३८ हजार रुपैया भएको रसिद दिएका थिए तर ९ लाख मात्रै नगद रकम दिईएको चन्दले वैतडी प्रहरी समक्ष बयान दिए। पछि भारतस्थित नेपाली दुतावासले पत्राचार गरेपछि चन्दलाई बैतडीबाट पक्राउ गरिएपछि उनले भारतमा २३ लाख नै लुटेर आएको पुष्टि भयो। यो बिचमा कैलाली प्रहरीले १३ लाख असुली गर्दै उनलाई छोडेको आरोप पनि लाग्यो। सुरुमा ६ लाख मात्रै बरामद गरेको बैतडी प्रहरीले पछि कैलाली प्रहरीको समेत सहयोगमा २३ लाख बरामद गर्दै रकम प्रहरी प्रधान कार्यालयलाई पठायो तर चोरीमा संग्लन चन्दले भने उन्मुक्ती पाए। भातरमा भारतीयहरुकै चोरीमा संग्लन भएका नेपालीमाथि कुनै पनि मुद्धा लाग्ने कानुनै नै नभएपछि उनलाई छोडिएको हो। 

यसै बर्ष बैशाखको तेश्रो साता भारतको लुधियाना पन्जावमा काम गर्ने कैलालीका ६ र कञ्चनपुरका २ जना गरि ८ जनाबिच अर्का नेपालीले काम गर्ने नन्दकिशोरको घरमा चोरी गर्ने योजना बन्यो। तर त्यस्का लागि उनको घरमा काम गर्ने १७ बर्षीय नेपाली किशोर राजु पार्की बाधक थिए। उनी नन्दकिशोरको परिवारसंग निकै नजिक भएकाले उनलाई चोरीको योजनामा सामेल गरिएन्। बैशाख २८ गते तिनै नेपाली किशोर पार्कीलाई विषादी सेवन गराएर ८ जना नेपालीले झण्डै एक करोड भारतीय रकम र सुनचाँदीका गहना चोरी गरे। चोरी गर्दै कैलाली फर्किएका ८ जनाको बारेमा भारतीय राजदुतावास हुँदै ईन्टरपोल मार्फत प्रहरी प्रधान कार्यालयलाई ढिलो गरि खवर आयो। प्रहरी प्रधान कार्यालयबाट कैलाली प्रहरीलाई अनुसन्धानका लागि निर्देशन भएपछि कञ्चनपुरको कृष्णपुर नगरपालिकाका मानवहादुर कार्की, सोही ठाउँका सन्तोष भट्टराई, कैलाली गौरीगंगाका कुमार भुल, गोदावरी नगरपालिकाका संकर विक, रविन्द्र सोव, योगेन्द्र विक, भोज विक र गणेश विक पक्राउ परे। उनीहरु विरुद्ध भने नेपाली किशोरलाई विषादी सेवन गराँउदै ज्यान मार्ने मनसाय देखिएकाले मुद्धा चलेको छ। तर सोही चोरीमा संग्लन अन्य ६ जना पक्राउ परेपनि उनीहरु विरुद्ध प्रहरीले मुद्धा चलाउन सकेको छैन्। 

यि त केहि उदाहरण मात्रै हुन्, पछिल्लो समय भारतमा हुने चोरीका घटनामा सुदूरपश्चिमका दर्जनौ गिरोह सक्रिय भएका छन्। भारतबाट चोरी गर्दा कुनै पनि कानुनी कारवाही नहुने भएपछि चोरीका घटनाहरुमा मजदुरीका लागि गएका सुदूरपश्चिमेलीहरुको सक्रियता बढ्दै गएको हो। भारतबाट जिन्सी सामान र नगद चोरी गर्नका लागि सुदूरपश्चिमकै दर्जनौ गिरोह सक्रिय भएपछि ईन्टरपोल मार्फत एकपछि अर्को चोरीका घटना अनुसन्धानका लागि नेपाल प्रहरीलाई खवर हुन थालेको छ। नेपाल प्रहरीलाई ईन्टरपोल मार्फत जानकारी हुने चोरीका घटनाहरु सबैभन्दा बढि सुदूरपश्चिमसंग सम्वन्धित रहेको संघीय प्रहरी ईकाइ कार्यालय धनगढीका प्रहरी बरिष्ठ उपरिक्षक विक्रम चन्दले बताए। उनले सुदूरपश्चिमका ९ जिल्लाबाट मजदुरीका लागि भारत गएकाहरु विभिन्न चोरीका घटनामा संग्लन रहेको भेटिएको बताए। 

प्रहरीका अनुसार सुदूरपश्चिमको बैतडी, अछाम र डोटी जिल्लामा स्थायी घर भई कैलाली र कञ्चनपुरमा बसोबास गर्दै आएकाहरुको भारतमा हुने चोरीमा संग्लनता बढि देखिएको छ। ईन्टरपोल मार्फत आएको खवरलाई प्रहरी प्रधान कार्यालयले अनुसन्धानका लागि चोरीमा संग्लनहरुको स्थायी ठेगानाका आधारमा निर्देशन दिने गरेको छ। तर उनीहरुलाई खोजेर चोरी भएको जिन्सी र नगद बरामद गर्न भने निकै मुस्किल भईरहेको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी नायव उपरिक्षक लालवहादुर धामीले बताए। ‘चोरीको सामान सबै कैलाली र कञ्चनपुर लुकाएर आउछन्,’ उनले भने, ‘डोटीमा उनीहरुको घरमै गएर खानतलासी गर्दा पनि केहि भेटिदैन्।’

भारतमा केही बर्ष काम गर्ने, काम गरेकै घर वा पसलमा चोरी गर्ने एउटा समूह, चोरी गरेको जिन्सी र नगद भारतबाट गौरीफन्टा वा गड्डाचौकी नाका भएर नेपाल भित्र्याउने अर्को समूह र नेपालमा पुगाईसकेपछि चोरीको सामान वाडफाँड गर्ने अर्को समूह बनाएर चोरी भईरहेको प्रहरी अनुसन्धानबाट खुलेको छ। जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरिक्षक दक्षकुमार बस्नेतले भारतमा चोरीका लागि दर्जनौ गिरोह नै सक्रिय भएका बताए। 

‘कैलालीमा मात्रै पछिल्लो केही महिना यता भारतमा चोरीमा संग्लन दुई दर्जन बढि पक्राउ परिसकेका छन्,’ उनले भने, ‘तर उनीहरु विरुद्ध मुद्धा चलाउने कानुन भने नहुँदा प्रहरीलाई अनुसन्धानमा कठिनाई भईरहेको छ।’ प्रहरीले पक्राउ गर्ने र चोरी भएको रकम बरामद गर्दै उनीहरुलाई छोड्ने गरेको उनले बताए। तर अधिकासं घटनमा ईन्टरपोल मार्फत चोरी भएको जिन्सी र नगद रकम मध्ये आधा समेत बरामद गर्न नसकिएको उनले स्विकार गरे। भारतमा हुने चोरीमा संग्लनलाई पक्राउ गर्ने र मुद्धा चलाउने अधिकार नेपाल प्रहरीलाई नहुँदा कतिपय पक्राउ परेकाले त प्रहरी विरुद्ध उल्टै मुद्धा समेत हालेका छन्। भारतमा हुने चोरी नेपाल प्रहरीलाई पनि कमाउ धन्दा बनेको आरोप बेला–बेला लाग्दै आएको छ। भारतमा चोरीमा संग्लनलाई कारवाही पनि नहुने भएकाले प्रहरीले उनीहरुलाई पक्राउ गर्दै रकम बाडफाँड गर्ने गरेको धेरैको आरोप छ। तर प्रहरीले भने चोरी भएको सबै रकम बरामद गर्न सक्ने अवस्था नै नभएकाले प्रहरी चोरीका घटनामा मुछिन पुगेको दावी गरेको छ।
 

 नवराज पनेरु दिनेश एफएमका सम्पादक हुन्। उनले कला साहित्य, खेलकुद, विकास निर्माण र समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस