सुदूरपश्चिमका अस्पतालमा ५ महिनापछि सुत्केरी भत्ता वितरण हुँदै
संघीय सरकारले बजेट पठाएपछि सुदूरपश्चिमका सुत्केरीहरुले झण्डै ५ महिनापछि भत्ता पाउने भएका छन्। माघ महिना यता बजेट अभाव भएको भन्दै अस्पतालमा प्रसुती सेवा लिएकाहरुले भत्ता नपाएको अवस्थामा संघीय सरकारले बजेट पठाएपछि भत्ता वितरण सुरु भएको हो। कतिपय अस्पतालले भत्ता वितरण सुरु गरिसकेका छन् भने कतिपय अस्पतालले अव सुरु गर्ने तयारी गरेका छन्। सेती अस्पतालले २३ गतेदेखि सुत्केरी भत्ता वितरण सुरु गर्ने भन्दै सुचना नै जारी गरेको छ। अस्पतालले सुत्केरी भत्ताका लागि आवश्यक कागजात सहित गाईने वार्डमा सम्पर्क गर्न आग्रह गरेको छ। सेती अस्पतालबाट मात्रै ५ महिनाको अवधीमा ढाई हजार बढि सुत्केरीले भत्ता पाउन बाँकी रहेको छ।
प्रदेशको सामाजिक विकास मन्त्रालयले आमा सुरक्षा कार्यक्रम अन्तरगत प्रदेशका अस्पतालमा प्रसुती सेवा लिएका आमाहरुलाई भत्ता वितरण गर्न संघीय सरकारले साढे तीन करोड बजेट पठाएको जनाएको छ। मन्त्रालयका बरिष्ठ जनस्वास्थ्य अधिकृत दयाकृष्ण पन्तका अनुसार यसअघि चालु आर्थिक बर्षका लागि सुरुमा ३ करोड २८ लाख र त्यसपछि सेती अस्पतालका लागि मात्रै एक करोड ५० लाख बजेट संघीय सरकारले पठाएको अहिले थप साढे तीन करोड पठाएको हो। उनले सुत्केरी भत्ताका लागि सेती अस्पतालले ६० लाख र महाकाली अस्पतालले २० लाख बजेट माग गरेको बताए। अन्य धेरै अस्पतालमा भने स्थानीय तह मार्फत नै बजेट गईरहेको पन्तले जानकारी दिए। उनले संघीय सरकारले सामाजिक विकास मन्त्रालय र कतिपय स्थानीय सरकारलाई पनि बजेट पठाएका कारण अधिकासं जिल्ला र जिल्ला स्तरीय अस्पताललाई भने स्थानीय सरकारले नै बजेट दिने बताए। अपुग भएको अस्पतालमा भने सामाजिक विकास मन्त्रालयले बजेट पठाउने उनले बताए।
स्वास्थ्य संस्थामा सुत्केरी भएपछि यातायात, नियमित जाँच र प्रोत्साहन बापत हिमालमा ३ हजार ८ सय, पहाडमा २ हजार ८ सय र तराईमा एक हजार ८ सय रकम पाउनुपर्ने भएपनि संघीय सरकारको स्वास्थ्य विभाग अन्तरगत परिवार कल्याण महाशाखाले बजेट पठाउँन ढिलाई गर्दा समस्या भएको थियो।