सबस्टेशन मर्मतको नाममा सुदूरपश्चिममा फेरी ६ घण्टा सम्म लोडसेडिङ हुने
नेपाल विद्युत प्रधिकरणले सुदूरपश्चिममा लोडसेडिङको तालिका हटाएको दुई वर्ष भएपनि सबस्टेशन मर्मतको नाममा अधिकासं क्षेत्रमा फेरी लोडसेडिङको तालिका ल्याईएको छ। विगत केही दिनदेखि अप्रत्यासित रुपमा गर्मी बढेको तथा मनसुनी वर्षा नभएकोले लालपुर १३२ केभी सबस्टेशनमा जडित पावर ट्रान्सफर्मरको क्षमताले नधान्ने अवस्था आएको भन्दै सुदूरपश्चिमका अधिकासं स्थानमा फेरी लोडसेडिङको तालिका सार्वजनिक गरिएको हो। अहिले ग्राहकको लोड र सिँचाई ग्राहक समेतको लोड अत्याधिक बढेको बताउँदै नेपाल विद्युत प्राधिकरण अत्तरिया ग्रिडले सवस्टेशनमा रहेको ट्रान्सफर्मरको क्षमता अभिवृद्धि गर्न केही दिन लाग्ने भएकाले विद्युत अनियमित हुने बताएको छ।
ग्रिडले ११ केभी फिडरहरुमा पालैपालो गरि बिद्युत आपूर्तिमा कटौती हुने जनाएको छ। अत्तरिया ग्रिडले मर्मतको क्रममा सुदूरपश्चिमका अधिकासं क्षेत्रमा पालैपालो विद्युत कटौती हुने जनाएको छ। सवस्टेशन मर्मतकै लागि ग्रिडले उक्त सुचना जारी गरेपछि कतिपय वितरण केन्द्रले भने लोडसेडिङको तालिका नै सार्वजनिक गरेका छन्। नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र महेन्द्रनगरले मातहतका ९ वटा फिडरमा ४ देखि ६ घण्टा लोडसेडिङ हुने तालिका सार्वजनिक गरेको छ। वितरण केन्द्रले अर्को सुचना जारी नभए सम्म सोही तालिका अनुसार लोडसेडिङ हुने जनाएको छ।