सुदूरपश्चिमबाट विदेश जानेको दर घट्यो, बेरोजगारी ११ प्रतिशत
धनगढीः सुदूरपश्चिमबाट विदेश जानेको दर घटेको छ। प्रदेशमा आर्थिक वर्ष २०८०/८१ को असार मसान्तसम्ममा वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिनेको सङ्ख्यामा कमी आएको हो।
आर्थिक वर्ष २०७९/८० को तुलनामा २०८०/८१ मा तीन हजार चार सय ३८ अर्थात् १२ दशमलव ५ प्रतिशतले वैदेशिक रोजगारीका लागि श्रम स्वीकृतिको दर घटेको नेपाल राष्ट्रिय बैँकको प्रतिवेदनले देखाएको छ। आर्थिक वर्ष २०७९/०८० मा सुदूरपश्चिमबाट २५ हजार ९ सय ३७ जना पुरुष तथा एक हजार ५ सय २६ जना महिला गरी जम्मा २७ हजार ४ सय ६३ जनाले वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिएको देखिएको छ। जुन समग्र देशभरिबाट श्रम स्वीकृति लिने सङ्ख्याको झन्डै ५ दशमलव ५६ प्रतिशत हो।
गत आर्थिक वर्ष २०८०/०८१ को असार मसान्तसम्ममा यस प्रदेशबाट २१ हजार ७ सय ४३ जना पुरुष तथा २ हजार २ सय ८२ जना महिला गरी जम्मा २४ हजार २५ जनाले वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिएका छन्।
नेपाल श्रमशक्ति सर्वेक्षण २०७५/७६ को प्रतिवेदन अनुसार सुदूरपश्चिम प्रदेशको औसत बेरोजगारी दर ११ दशमलव ५ प्रतिशत रहेको छ। रोजगारी दर २४ दशमलव १ प्रतिशत रहेको सर्वेक्षणले देखाएको छ।
सुदूरपश्चिममा प्रधानमन्त्री रोजगार कार्यक्रम र सीपमूलक तालिम सञ्चालन मार्फत दुई वर्षमा १७ हजार ५८ जना लाभान्वित भएका छन्। आर्थिक वर्ष २०७९/२०८० मा सुदूरपश्चिम प्रदेश स्वरोजगार विकास कोषबाट ६ वटा सीपमूलक तालिम सञ्चालनबाट एक सय १० जना महिला र ६९ जना पुरुष गरी जम्मा एक सय ७९ जना लाभान्वित भएका छन्।
यस्तै प्रधानमन्त्री रोजगार कार्यक्रमबाट सोही आर्थिक वर्षमा १६ हजार ६ सय ६७ जना लाभान्वित भएका छन्। रोजगारीमा खटिएकामध्ये सबैभन्दा बढी कैलाली जिल्लामा २ हजार ५ सय ३८ जना लाभान्वित भएका छन् भने डोटी जिल्लामा सबैभन्दा कम एक हजार ४ सय जना लाभान्वित भएका छन्।
यसैगरी आर्थिक वर्ष २०८०/८१ मा स्वरोजगार विकास कोषबाट ६ वटा सीपमूलक तालिम सञ्चालन भई ११६ जना महिला र ९६ जना पुरुष गरी यस प्रदेशभरी जम्मा २१२ जना लाभान्वित भएका छन्।
सुदूरपश्चिम प्रदेशमा औपचारिक क्षेत्रमा काम गर्ने जनशक्ति १४ दशमलव ८ प्रतिशत रहेको छ। अनौपचारिक क्षेत्रमा काम गर्ने जनशक्ति ८५ दशमलव २ प्रतिशत रहेको छ।
आर्थिक वर्ष २०८०/८१ मा प्रधानमन्त्री रोजगार कार्यक्रमबाट सिर्जित रोजगारीमा खटिएका व्यक्तिको औसत रोजगारी दिन कर्णाली प्रदेशमा सबैभन्दा बढी ७१ दशमलव ६, मधेस प्रदेशमा सबैभन्दा कम ३४ दशमलव ८ रहेको छ भने सुदूरपश्चिम प्रदेशमा ६५ दशमलव ७७ प्रतिशत रहेको छ।