सुदूरपश्चिमका यी जिल्लाहरुमा बन्नेछन् १५ वर्षभित्र १६६ सडक
धनगढीः सुदूरपश्चिम प्रदेशभित्र अबको १५ वर्षभित्र एक सय ६६ सडक बनाउने गरी योजना अघि सारिएको छ।
प्रदेश सरकारले पाँच हजार किलोमिटर सडक कालोपत्र गर्ने लक्ष्यसहित सडक गुरुयोजना तयार पारेको हो। प्रदेशका नौवटै जिल्ला गरी एक सय ६६ सडक सो गुरुयोजनाभित्र समावेश गरिएको छ। ती सडक कालोपत्र गर्न साढे एक खर्ब लगानी अनुमान गरिएको छ। प्रदेश सरकारअन्तर्गत यातायात पूर्वाधार निर्देशनालयले तयार पारेको गुरुयोजनामा छनोट गरिएका सडक कालोपत्र गर्न लाग्ने लगानी अनुमान गरिएको हो।
यातायात पूर्वाधार निर्देशनालयका प्रमुख जगतप्रसाद जोशीले स्रोत जुटाउन सके १० वर्षभित्रै पाँच हजार किलोमिटर सडक कालोपत्र गर्ने लक्ष्य रहेको बताए। उत्तर–दक्षिण र पूर्व–पश्चिम जोड्ने, पर्यटकीय केन्द्र तथा आर्थिक केन्द्र जोड्ने सडकलाई गुरुयोजनामा समावेश गरिएको छ। कैलालीमा पाँच सय ५६ किलोमिटर लम्बाइका २३ वटा सडक र कञ्चनपुरमा दुई सय ७९ किलोमिटर लम्बाइका १४ वटा सडकलाई गुरुयोजनामा समावेश गरिएको छ।
त्यस्तै, अछाममा ७७२ किलोमिटर लम्बाइका १९, बैतडीमा ७१२ किलोमिटरका २६ र डोटीमा ६१७ किलोमिटर लम्बाइका १५ वटा सडक कालोपत्र गरिने लक्ष्य छ। यस्तै बाजुरामा ४८९ किमी २० र दार्चुलामा ४४२ किमीका १७ वटा सडकलाई गुरुयोजनामा समावेश गरिएको छ।
बझाङमा ६४८ किलोमिटर लम्बाइका १९, डडेलधुरामा १३ वटा सडकको ४७९ किलोमिटर सडक कालोपत्र गर्ने लक्ष्य छ। यातायात पूर्वाधार निर्देशनालयका अनुसार प्रदेशका ८८ वटा पालिकामध्ये तीनवटा पालिकाको केन्द्रसम्म सडक नै पुगेको छैन। त्यस्तै, ३२ वटा पालिकाको केन्द्रलाई कालोपत्र सडकले छोएको छैन।