सुदूरपश्चिमका हजारौँ सुत्केरीले झण्डै ५ महिनादेखि भत्ता पाएनन्
संघीय सरकारले पर्याप्त बजेट नपठाएपछि सुदूरपश्चिमका हजारौँ सुत्केरीहरु झण्डै ५ महिनादेखि भत्ता पाउनबाट बञ्चित भएका छन्। संघीय सरकारले पठाएको बजेट अपुग भएपछि र थप बजेट अहिले सम्म नपठाउँदा हजारौँ सुत्केरीले झण्डै ५ महिनादेखि यातायात र प्रोत्साहन बापतको रकम नपाएका हुन्। धनगढीको सेती अस्पतालकी प्रसुती वार्डमा नर्सीङ ईन्चार्ज यशोदा ढकालले ५ महिनादेखि बजेट नआएपछि हजारौँ महिलाहरु सुत्केरी भत्ताबाट बञ्चित भएको बताईन्। ‘प्रत्येक महिना ६ सय देखि ७ सय महिलाले अस्पतालबाट प्रसुती सेवा लिईरहेका छन्,’ उनले भनिन्, ‘५ महिनाको अवधीमा झण्डै तीन हजार सुत्केरी भत्ता पाउनबाट बञ्चित भएका छन्। प्रसुती सेवा लिईसकेपछि भत्ताका लागि पछि आउनु भन्दै फर्काईरहेका छौ।’
स्वास्थ्य संस्थामा सुत्केरी भएपछि यातायात, नियमित जाँच र प्रोत्साहन बापत हिमालमा ३ हजार ८ सय, पहाडमा २ हजार ८ सय र तराईमा एक हजार ८ सय रकम पाउनुपर्ने भएपनि संघीय सरकारको स्वास्थ्य विभाग अन्तरगत परिवार कल्याण महाशाखाले बजेट नपठाउँदा समस्या भएको प्रदेशको सामाजिक विकास मन्त्रालयले जनाएको छ।
मन्त्रालयका वरिष्ठ जनस्वास्थ्य अधिकृत दयाकृष्ण पन्तका अनुसार चालु आर्थिक बर्षका लागि सुरुमा ३ करोड २८ लाख र त्यसपछि सेती अस्पतालका लागि मात्रै एक करोड ५० लाख बजेट संघीय सरकारले पठाएको थियो। ‘उक्त बजेट पर्याप्त हुन सकेन्,’ उनले भने, ‘आगामी आर्थिक बर्षका लागि सरकारले ८ करोड सुत्केरी भत्ताका लागि विनियोजन गरेपनि सो बजेट पनि अपुग हुने देखिएको छ। सुत्केरी भत्ता नपाएका आमाहरुका लागि संघीय सरकारले छिट्टै बजेट पठाउने आश्वासन भने दिएको छ।’
यता यातायात र प्रोत्साहन बापतको रकमका लागि सुत्केरी र परिवारका सदस्यहरु दैनिक अस्पताल र मन्त्रालय धाउँन थालेका छन्। सोही क्रममा सामाजिक विकास मन्त्रलायमा सुत्केरी श्रीमतीको भत्ता माग्न पुगेका कञ्चनपुर बेल्डाँडीका करन नेपालीले अस्पतालले मन्त्रालय र मन्त्रालयले अस्पताल पठाउने गरेको गुनासो गरे। ‘एक हजार ८ सय भत्ताका लागि बेल्डाँडीबाट तीन पटक धनगढी आईसकेको छु,’ उनले भने, ‘भत्ता पाउने रकम भन्दा बढि आवतजावत गर्दैमा खर्च भईसकेको छ।’