सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा झन्डै ४ करोडको अबैध सामान बरामद, १३ जना पक्राउ

२०८१ मंसिर २७, ०९:५३ खबर संवाददाता

धनगढी: जिल्ला प्रहरी कार्यालय कैलालीले आज मात्रै ६ लाख १९ हजार ३ सय मुल्य बराबरको अबैध सामान बरामद गरेको छ।

जिल्लाको विधिन्न स्थानका भारतीय नाकाबाट भन्सार छली गरी ल्याएको उक्त मुल्य बराबरको अबैध सामानहरु वेवारिसे अवस्थामा फेलापारी आवश्यक कारवाहीको लागि भन्सार कार्यालय पठाएको प्रहरीले बताएको छ। जस मध्ये वडा प्रहरी कार्यालय धनगढीबाट प्रहरी निरीक्षक योगेश खत्रीको कमाण्डमा खटिएको प्रहरी टोलीले धनगढी उपमहानगरपालिका–२ चौराहबाट अन्दाजी ५ लाख ७० हजारको ११ थान मोबाईल बरामद गरेको छ।

त्यसैगरी जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको मोटरसाकल  गस्ती टोलीले धनगढी धनगढी उपमहानगर–२ बाट ८ हजार बराबरकोे माला बरामद गरेको छ। ईलाका प्रहरी कार्यालय हसुलियाबाट खटिएको प्रहरी टोलीले कैलारी गाउँपालिका–४ हनुमान मन्दिरबाट ४१ हजार ३ सय बराबरको सुर्ति र चकलेट बरामद गरेको छ।

यस्तै कैलालीमा चालु आर्थिक वर्षको मंसिर २५ गतेसम्म तीन करोड ६८ लाख ३९ हजार २ सय ७१ मुल्य बराबरको अबैध सामान बरामद गरिएको छ। जिल्ला प्रहरी कार्यालय र मातहत निकायबाट खटिएको प्रहरी टोलीले सो अवधिमा उक्त मुल्य बराबरको अबैध सामान बरामद गरेको हो। भारतबाट अबैध रुपमा भित्र्याएका सामानसँगै प्रहरी २९ वटा सवारीसाधन समेत बरामद गरेको छ।

यस्तै भन्सार छलीका सामान तस्करीमा संलग्न १३ जना पनि नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय कैलालीले उपलब्ध गराएको तथ्यांकमा उल्लेख छ। कैलाली प्रहरीले साउन महिनामा ७० लाख २४ हजार २ सय ४५ मुल्यको अवैध सामान बरामद गरेको छ। सो अवधिमा ६ वटा सवारीसाधन र एक जनालाई नियन्त्रणमा लिएको प्रहरीले बताएको छ।

यस्तै भदौ महिनामा ७२ लाख ३८ हजार ८९ मुल्यको थप अबैध सामान बरामद गरिएको छ। सो अवधिमा भन्सार छलीमा संलग्न २ जनालाई पक्राउ गरिएको छ भने तीनवटा सवारीसाधन नियन्त्रणमा लिइएको छ। यसैगरी असोज महिनामा ८७ लाख ३३ हजार २ सय ३४ मुल्यको अबैध सामान बरामद गरिएको छ। सो अवधिमा तीन जनालाई पक्राउ गरिएको छ भने पाँचवटा सवारीसाधन जफत गरिएको छ।

यस्तै कार्तिक महिनामा ८७ लाख ७५ हजार चार सय ३० मुल्यको अबैध सामान बरामद गरिएको छ। सो अवधिमा १२ वटा सवारीसाधनसहित ७ जनालाई पक्राउ गरिएको छ। यस्तै मंसिर २५ गतेसम्म ६८ लाख ५० हजार ९७३ मुल्यको अबैध सामान बरामद गरिएको छ। साथै अबैध सामानसहित तीनवटा सवारीसाधन समेत नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय कैलालीले उपलब्ध गराएको विवरणमा उल्लेख छ।

कमेन्ट लोड गर्नुस