सरकारले गलत गतिविधि नसच्याए सशक्त प्रतिवाद गर्छौंः प्रचण्ड
काठमाडौँः नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारले आफ्ना गलत गतिविधि नसच्याए सदन र सडकबाट सशक्त प्रतिवाद गर्ने चेतावनी दिएका छन्।
चितवनको भरतपुरमा मंगलवार आयोजित खबरदारी सभालाई सम्बोधन गर्दै उनले यस्तो चेतावनी दिएका हुन्। सरकार सुशासन, सामाजिक न्याय र समृद्धिको विपक्षमा अघि बढिरहेको उल्लेख गर्दै उनले यसलाई रोक्ने होइन भने संसद्को विशेष अधिवेशन बोलाउने र लाखौं जनता सडकमा ल्याएर सदन र सडकबाट आन्दोलन अघि बढाउने बताए।
राम्रो बन्दै गरेको विद्युत प्राधिकरण, मेरिटोक्रेसीमार्फत सुधारको बाटोमा अघि बढेको त्रिभुवन विश्वविद्यालय आदिमा प्रहार गरेर सरकारले अराजकता निम्त्याउन खोजेको उल्लेख गर्दै प्रचण्डले यस्ता हर्कत स्वीकार्य नहुने बताए। आफूले प्रधानमन्त्री हुँदा रुग्न उद्योग सञ्चालनको तयारी गरेको उल्लेख गर्दै उनले अहिलेको सरकारले सार्वजनिक उद्योग बिक्री गर्न खोजेको र यो पनि जनताका लागि स्वीकार्य नहुने बताए।
अध्यक्ष प्रचण्डले देशभरका हजारौं सहकारीको पैसा अपचलन गर्नेमा कांग्रेस एमालेकै नेताहरूको बाहुल्यता भए पनि उनीहरूलाई बचाउन केन्द्रित रहेको आरोप लगाए। अहिले सरकारको नेतृत्व गर्ने दलका नेताहरूलाई बचाउनकै लागि रवि लामिछानेलाई सहकारीको सबै पैसा खाएको हो जसरी प्रस्तुत गरिएको छ’, प्रचण्डले भने। ‘रवि र राष्ट्रिय स्वतन्त्र पार्टीले कांग्रेस र एमालेले भनेको स्वीकार नगरेको कारण राजनीतिक प्रतिशोधको व्यवहार देखाएको जोकसैले बुझ्नसक्छ’, प्रचण्डले थपे।