सुदूर नेपाललाई विश्वसँग जोड्दै

देउवा र प्रचण्डसँँग अमेरिकी सहायक विदेशमन्त्री लुको छुट्टाछुट्टै भेट 

२०८१ मंसिर २३, ०६:०६ खबर संवाददाता

काठमाडौँः नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग संयुक्त राज्य अमेरिकाका दक्षिण तथा मध्य एसिया हेर्ने सहायक विदेशमन्त्री डोनाल्ड लुले छुट्टाछुट्टै भेटवार्ता गरेका छन्।

सभापति देउवासँग उनको निवास बूढानीलकण्ठमा भएको भेटमा उनीहरूबीच द्विपक्षीय हितका विविध पक्ष र समसामयिक विषयमा छलफल भएको सभापति देउवाका प्रमुख स्वकीय सचिव भानु देउवाले बताए। यस्तै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग दाहालको निवास खुमलटारमा भेटवार्ता भएको हो।

अध्यक्ष दाहालको सचिवालयका अनुसार दाहालले लुको नेपाल भ्रमण फलदायी हुने विश्वास व्यक्त गरे। भेटवार्तामा माओवादीका उपमहासचिव वर्षमान पुन पनि सहभागी थिए। नेपाल आर्थिक समृद्धिको बाटोमा अघि बढ्न खोजिरहेको उल्लेख गर्दै अध्यक्ष दाहालले यसमा अमेरिकालगायत अन्तर्राष्ट्रिय समुदायको सहयोग र सद्भाव महत्वपूर्ण हुने बताएको सचिवालयले जनाएको छ।

उनको यो भ्रमणले अमेरिका–नेपाल सम्बन्धलाई मजबुत बनाउने र वातावरणीय सुरक्षा, महिला सशक्तीकरण, सांस्कृतिक संरक्षण र दिगो विकासजस्ता मुख्य क्षेत्रहरूमा दुई देश बीचको सहकार्यलाई अघि बढाउने विषयमा योगदान पुग्ने विश्वास गरिएको छ।
 

कमेन्ट लोड गर्नुस