सुदूर नेपाललाई विश्वसँग जोड्दै

बैँकको जागिर छाडेर अछामको चौरपाटीमा कालिज पालन गर्दै गौरव

२०८१ कार्तिक १०, ०४:५२ खबर संवाददाता

अछामः अछामको चौरपाटी गाउँपालिका–४ का गौरव जोशी यति बेला व्यावसायिक रूपमा कालिज पालन व्यवसायमा व्यस्त छन्।

बैँकको जागिर छोडेर २०७९ सालबाट जोशीले पालिकाको केन्द्रमै तिर्सना कृषि तथा पशुपक्षी फार्म दर्ता गरेर कालिज पालन सुरु गरे। पालिकाको वडा नम्बर ४ मा जन्मिएका जोशीले माध्यमिक तहसम्मको पढाई बैजनाथ मावि पायलबाट पुरा गरेका थिए। त्यसपछि उनी उच्च शिक्षाका लागि धनगढी गए। त्यहाँ उनले ल्याब टेक्नेसियन र ११÷१२ कक्षा सँगसँगै पढे।

धनगढीको शैलेश्वरीबाट ल्याब टेक्नेसियन अध्ययन गरेका उनले कैलाली बहुमुखी क्याम्पसबाट ११÷१२ कक्षा पढे। त्यसपछि उनले कैलाली बहुमुखी क्याम्पसबाटै व्यवस्थापन संकाय लिएर स्नातक गरे।

बाल्यकालदेखि नै मेहनत गर्ने जोशीले पढ्दै कमाउँदै पनि गरे। ल्याब टेक्नेसियन पास गरिसकेपछि अछाममा आएर जागिर पनि गरेको उनी सुनाउँछन्। तर, उनी सो जागिरबाट सन्तुष्ट थिएनन्। त्यसपछि उनी काठमाडौँ हानिएका थिए। धनगढी र अछाममा उनले काम गरिसकेका थिए।

त्यसैले उनले अनुभवका लागि भए पनि काठमाडौँ जाने सोच बनाए। त्यहाँ पनि उनले केही समय फार्मेसीमा काम गरे। त्यो कामबाट पनि सन्तुष्टि नभएका गौरव बैंकिङ् क्षेत्रमा प्रवेश गरे। व्यवस्थापन विषय लिएर पढेका उनलाई सो क्षेत्रमा प्रवेश गर्न पनि सहज भयो। उनले काठमाडौँमै कुमारी बैँकमा काम गरे।

उनले त्यो बैँकमा लगभग तीन वर्ष काम गरे। तर, त्यहाँको तनाव र हैरानीले उनी आफ्नै व्यवसायी गर्ने मनसायमा पुगेँ। सुरुदेखि नै कालिज पालन व्यवसाय गर्ने सोच बनाएका उनी आर्थिक अभावका कारण ‘ब्याक’ थिए। त्यसपछि जागिर गरेर अलि आर्थिक रूपमा बलियो बनेका गौरवले केही रकम ऋण लिएर व्यवसाय गर्न कस्सिए।

२०७९ सालको चुनावमा भोट हाल्न गाउँ फर्किएका गौरवले अछामबाटै बैँकको जागिरबाट राजीनामा दिएका थिए। त्यसपछि उनले चौरपाटी गाउँपालिका–१ को चौरपाटी बजारमै करिब साढे ६ रोपनी जमिनमा कालिज पालन व्यवसाय सुरु गरे। जोशीले सुरुमै करिब ३० लाखको लगानीमा व्यवसाय सुरु गरेका थिए।

खोर बनाउन मात्रै १७ लाखसम्म खर्च लागेको उनी सुनाउँछन्। सुरुमा उनले काठमाडौँबाट १० लाखमा तीन सय कालिजका चल्ला किनेका थिए। तर, चौरपाटीसम्म पु¥याउँदा एक सय भन्दा बढी चल्ला मरे। त्यसपछि पनि विभिन्न कारणले केही कालिजहरू मरेका थिए।

त्यसपछि उनले बेचेका कालिज भने उनले अछाम लगायत धनगढीसम्म बिक्री गरेका थिए भने केही कालिज अण्डा उत्पादनका लागि खोरमै राखे। खोरमै राखिएका कालिजहरूले करिब पाँच हजार अण्डा दिएको उनको भनाई छ। ती अण्डाबाट आफूले चल्ला उत्पादन गरेको उनी सुनाउँछन्। उनले भने, ‘पहिलो पटक कालिजहरूले झण्डै पाँच हजार अण्डा दिएका थिए । ती मध्येबाट करिब दुई हजार चल्ला उत्पादन भयो। तीमध्ये नौँ सय चल्ला दार्चुला र अछामकै जयगढतिर बेचेँ । बाँकी चल्ला आफैले पालेको थिए। त्यसबाट पनि दुई सय चल्लाहरू मरे । अहिले एक हजार भन्दा बढी कालिजहरू खान योग्य भइसके।’

उनले ‘ह्याचिङ मेसिन’ राखेर आफैँ चल्ला उत्पादन गरिरहेका छन्। अहिले भने उनले चल्ला किन्नु परेको छैन। उनीसँग अहिले दुई वटा ‘ह्याचिङ मेसिन’ छन्। तर, ती पुराना भइसकेका कारण नयाँ ‘ह्याचिङ मेसिन’ किन्ने उनको योजना छ । साथै मासुका लागि भाले कालिजको सङ्ख्या बढाउने उनको लक्ष्य छ।

करिब ६ महिनामा कालिजको मासु खानका लागि योग्य हुने उनले बताए। कालिजको मासु सबैका लागि स्वादिष्ठ र उपयोगी हुने भए पनि विशेष गरी युरिक एसिड भएका व्यक्ति र सुत्केरीका लागि हितकारक हुने बताइन्छ। यसै गरी उनले अहिले सम्म बजारको समस्या नरहेको बताए।

कालिजहरू अर्डर अनुसार आफूले पनि काटेर खुवाउने गरेको उनी सुनाउँछन्। उनले भने, ‘अहिलेसम्म बजारको समस्या छैन। मेरो लक्ष्य भनेको वार्षिक एक हजार कालिज बेच्ने लक्ष्य छ । त्यसका लागि अछामकै बजार प्रशस्त छ । अगाडी तीन सय कालिज बेच्दा त्यस्तो समस्या भएन। अब के हुन्छ ।’

उनले गत वर्ष ५०–६० वटा कालिज धनगढी पठाएको बताए। युवा व्यवसायी जोशीले यस पटक आफूले लगानी उठाउने बताए। एक वर्षमा झण्डै १२ लाखसम्म आम्दानी गरेको उनको भनाई छ। उनले भने, ‘मैले सुरुदेखि अहिलेसम्म ३५ लाख भन्दा बढी रुपैयाँ लगानी गरेको छु। यस पटक म लगानी उठाउँछु । अर्को पटकबाट फाइदामा जान्छु । कामदार पनि राख्ने योजनामा छु।’ उनले अहिलेसम्म कतैबाट सहयोग नपाएको बताउँदै पालिकाबाट जेनेरेटर सहयोग पाएको बताए। तर,यस पटक प्रदेश सरकारबाट पनि थोरै रकम सहयोग पाएको उनको भनाई छ। ‘आश्वासन धेरैबाट पाएको छु । तर अहिलेसम्म सहयोग पाएको छैन । पालिकाका अध्यक्ष ज्यूले एउटा जेनेरेटर दिनु भएको थियो । अन्य निकायबाट पनि सहयोग पाएको छैन । तर यस पटक प्रदेश सरकारले केही रकम विनियोजन गरेको छ,’ उनले भने।

उनी युवाहरूलाई स्वदेशमै रोजगारी गर्न उनी सुझाव दिन्छन्। युवाहरू पछिल्लो समय अल्छी हुँदै गएका कारण पनि व्यवसाय गर्नबाट पछि हट्ने गरेको उनले बताए। उनी भन्छन्, ‘अवसर नभएको होइन । अवसर जति पनि छ । तर हाम्रा मान्छे अल्छी भए। मेहनत गर्दैनन् । बम्बैका भारु देख्न थाले । नेपाली उनीहरूको आँखामै लाग्दैनन् ।’

उनले नेपालमा रोजगारीका धेरै अवसर रहेको दाबी गरे । युवाहरूलाई स्वदेशमै रोजगारी गर्न उनको सुझाव छ । उनी चल्लाहरू हुर्काउन चुनौती । उनले अस्ट्रेलियन रिङरेट जातको कालिज पालेका छन् ।

यस्तै यो पटक जङ्गली कालिजसँग रिङरेट जातको कालिजलाई क्रस गराएर नयाँ जातको कालिज बनाएको उनको दाबी छ । उनले विश्वमै यो छुट्‍टै जातिको कालिजको विकास गरिएको बताए ।

उनले अहिले सो प्रजातिका तीन वटा कालिज रहेको जानकारी दिए । अझै पनि नयाँ प्रजातिको कालिज विकासमा आफू लागिरहेको उनी सुनाउँछन् । साथै उनले चौरपाटी कालिज पालनका लागि नेपालकै उत्तम ठाउँ रहेको दाबी गरे । सात महिनाको उमेरमै बुबा गुमाएका जोशी अहिले चौरपाटीको उत्कृष्ट युवा व्यवसायीका रूपमा चिनिँदै गएका छन् ।

उनले अब बाख्रा पाल्नेसमेत योजना बनाएका छन् । उनलाई सुरुमा कालिज पालन व्यवसाय गर्दा आफन्तहरूले निराशाजनक कुरा सुनाउँथे । तर पनि उनले हिम्मत हारेनन् । आफ्नो लक्ष्यमा लागिरहे । अहिले उनी लाखौँ रुपैयाँका मालिका भएका छन् । उनले पोथी दुई तथा भाले कालिजलाई तीन हजारमा बेच्ने गरेका छन् ।

उनको फार्ममा अहिले एक हजार भन्दा बढी कालिज रहेका छन् । उनले अहिलेसम्म कालिज पालनसम्बन्धी तालिम समेत लगेका छैनन् । उनले यूटुव हेरेर नै कालिज पाल्ने योजना बुनेका थिए । उनी कालिज फार्ममा २४ सै घण्टा खटिएका छन् । उनी घर नगएको पनि ७–८ महिना भइसक्यो ।

अब उनले केही युवाहरूलाई रोजगारी दिने योजनासमेत रहेको सुनाए । यसभन्दा अगाडी पनि उनले कामदार राखेका थिए । तर अहिले जोशी फार्ममा एक्लै काम गरिरहेका छन् । उनले कालिजको खोरभित्र घाँससमेत रोपेका छन् । साथै उनले फार्ममा अझै थप लगानी लगाउने तयारी गरेका छन् ।

 

कमेन्ट लोड गर्नुस