सुदूर नेपाललाई विश्वसँग जोड्दै

अछामको चौरपाटीका किसानका खेतबारीको माटो परीक्षण

२०८१ कार्तिक १०, ०९:५७ खबर संवाददाता

अछाम : अछामको चौरपाटी गाउँपालिका– १ र २ का कृषकहरूको खेतबारीको माटो परीक्षण गरिएको छ। गुड नेवर्स इन्टरनेशनल नेपालको आर्थिक तथा प्राविधिक सहयोग र मालिका विकास संघ, नेपालको साझेदारीमा सञ्चालित जलवायु स्मार्ट परियोजना अन्तर्गत माटो परीक्षण गरिएको हो।

माटो परीक्षणको मुख्य उद्देश्य माटोमा रहेको उर्वराशक्‍ति र पोषक तत्वको पहिचान गरी उपयुक्त मल र पोषक तत्वहरूको प्रयोग तथा व्यवस्थापन गर्दै कृषि उत्पादन र उत्पादकत्व बढाउनु रहेको मालिका विकास संघ नेपालले जनाएको छ। यो परियोजनाले कृषि उत्पादन र उत्पादकत्व वृद्धि, माटोको उर्वराशक्‍ति पहिचान, र जलवायु मैत्री कृषि अभ्यास अवलम्बन गर्न सहयोग गर्ने लक्ष्य राखेको छ।

कृषकहरूलाई माटोको पोषणस्तरका आधारमा उपयुक्त मल र पोषक तत्वको प्रयोगसम्बन्धी सल्लाह प्रदान गरिने मालिका विकास संघका जलवायु मैत्री गाउँ परियोजना अधिकृत जनक कठरियाले बताए। उनका अनुसार बिहिवार र शुक्रवार वडा नम्बर १ का ९४ र वडा नम्बर २ का ८५ गरी जम्मा १७९ कृषकको खेतबारीबाट नमुना माटो परीक्षण गरिएको छ। कञ्चनपुरस्थित माटो तथा मल परीक्षण प्रयोगशाला सुन्दरपुरको प्राविधिक सहयोगमा वडा नम्बर १ को गैरीलेकमा नमुना सङ्कलन र परीक्षण गरिएको हो।

जलवायु परिवर्तनका कारण कृषि उत्पादनमा परेको नकारात्मक प्रभावलाई सम्बोधन गर्दै, जलवायु मैत्री गाउँ परियोजनाले कृषकहरूलाई कृषि प्रविधि र जलस्रोत व्यवस्थापनको तालिम प्रदान गर्दै आएको छ।

वातावरणीय सुधार प्रणाली अपनाउन प्रेरित गर्दै परियोजनाले उत्पादनशीलता बढाउन सहयोग पु¥याउने उद्देश्य राखेको छ। गुड नेवर्स इन्टरनेशनलको सहयोगमा सञ्चालन गरिएको यो परियोजनाले कृषकहरूलाई दीर्घकालीन रूपमा लाभ पु¥याउने विश्वास गरिएको छ।

 

कमेन्ट लोड गर्नुस