बोगटान फुड्सिलमा रैथाने बालीको संरक्षणका लागि प्रदर्शनी मेला
डोटीः डोटी जिल्लाको बोगटान फुड्सिल गाउँपालिकाले रैथाने बालीको संरक्षको लागि प्रदर्शनी मेला गर्ने भएको छ।
उक्त पालिकाले रैथाने बालीको संरक्षण र प्रवर्द्धनका लागि कृषि प्रदर्शनी मेला कार्यक्रमको सुरुवात गरेको छ। युनाइटेड मिसन टु नेपालको सहयोग तथा कृषि शाखा बोगटान फुड्सिल गाउँपालिका, वडा कार्यालयको सहकार्य र समन्वयमा ग्रामीण समुदाय विकास केन्द्र (आरसीडिसि) ले कृषि प्रदर्शनी मेलाको आयोजना गरिरहेको छ।
संस्थाको दिगो वातावरणको लागि जलवायु परिवर्तन प्रभाव न्यूनीकरण तथा अनुकूलन (क्लाइमेट) परियोजना अन्तरगत बोगटान फुड्सिल गाउँपालिकामा गत वर्षबाट आरसिडिसीले कृषि प्रदर्शनी मेलाको आयोजना गर्दै आएको छ। परियोजना सञ्चालनमा रहेका वडा सिमचौर, चवराचौतारा र सात्फरीमा रैथाने बालीको संरक्षण र प्रवर्द्धनका लागि प्रदर्शनी मेलाको आयोजना हुने गरेको आरसिडिसीका प्रशासन तथा लेखा अधिकृत विमलराज जोशीले बताए।
जोशीका अनुसार गत वर्ष तीन ओटै वडाको संयुक्त रूपमा प्रदर्शनी मेलाको आयोजना गरिएको भए पनि यो वर्ष भने वडागत रूपमा गरिएको छ। यो वर्ष वडा नम्बर–१ सिमचौर र वडा नम्बर–७ चवराचौतारामा प्रदर्शनी मेला सम्पन्न भएको र वडा नम्बर–४ सात्फरीमा छिट्टै सञ्चालन हुने जोशीले बताए।
‘प्रदर्शनी मेलामा किसानहरूबाट लोप हुन लागेका रैथाने बाली आउने गरेका छन् यो हाम्रो लागि सुखद पक्ष हो, जोशीले भने, त्यस्ता रैथाने बालीको मूल्याङ्कन गरी ६ विधामा किसानलाई पुरस्कार दिनुका साथै त्यस्ता बालीको खेती गर्न हौसला दिने गरेका छौ।’ प्रदर्शनी मेलामा यो ठाउँबाट करिब लोप भएका कागुनो, गुराउस, सेउणो धान, मार्सो धान, फापर, बेथे, खोयो, पुरानो फर्सी जस्ता बाली फेला परेको जोशीले बताएका छन्।