अछामको साँफे–मार्तडी सडक पहिरोका कारण अवरुद्ध
अछामः अछामको साँफे–मार्तडी सडक पहिरोका कारण अवरुद्ध भएको छ।
लगातारको वर्षाका कारण साँफे–मार्तडी सडक खण्डको साँफेबगर नगरपालिका–१३ को बुढाबगरमा ठुलो पहिरोका कारण सडक अवरुद्ध भएको हो। बुधवार राति करिब तीन सय मिटर जति सडक भन्दा माथिबाट पहिरो आएपछि आवतजावतमा रोक लागेको हो।
निरन्तर पहिरो खसिरहेकोले बाटो खुलाउन जोखिम भएकोले पहिरोको वारिपारि सवारी साधन रोकिएको अछाम प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक ईश्वरी प्रसाद भण्डारीले जानकारी दिए। पहिरो खस्ने क्रम रोकिएसँगै उज्यालो भएपछि सडक सुचारु गर्ने तयारी भइरहेको भण्डारीको भनाइ छ।
सडक अवरुद्ध भएसँगै बाजुराबाट बाहिर जिल्ला जाने र बाजुरा जिल्ला जाने सवारी साधनसँगै यात्रुहरूलाई सास्ती भएको छ। साँफे–मार्तडी सडकमा वर्षाको समयमा पहिरोको कारण सडक अवरुद्ध हुँदै आएको छ।