जनप्रतिनिधि नै रोजगारी खोज्दै भारततिर
अछाम: स्थानीय तहको निर्वाचनमा निवार्चित चौरपाटी गाउँपालिकाका जनप्रतिनिधि रोजगारीका लागि भारत गएको खुलेको छ।
आफूले चुनाव जितेमा गाउँमै रोजगारी सिर्जना गर्ने र युवाहरुलाई विदेश जान नदिने भन्दै भोट मागेर चुनाव जितेका उनीहरु अहिले आफैँ रोजगारी गर्न छिमेकी मुलक भारत गएका हुन्। यसरी भारत जानेमा वडा नम्बर-३ का वडा सदस्य झंकरबहादुर साउँद र रामबहादुर साउँद रहेका छन्।
वडा नम्बर-३ का अध्यक्ष बिरेन्द्रबहादुर साउँदका अनुसार उनीहरु एक महिनाका लागि घुम्न भनेर भारत गएका थिए। तर उनीहरु त्यहाँँ जागिर गर्न थालेको स्रोतले बतायो। स्रोतका अनुसार रामबहादुर भारतको पन्जाबमा १२ हजार तलबमा काम गरिरहेका छन्।
उनी दशैमा घर फर्कने योजना बनाएका छन्। उनी गएको साल पनि दुई महिना भारतमा काम गरेर फर्किएको बताइएको छ। यस्तै झंकरपनि भारतको मुम्बईमा रहेका छन्। उनी अहिलेसम काम गर्न लागेका छैेनन्। तर उनी पनि दशैको समयमा घर फर्कने तयारीमा छन्।
यता वडा अध्यक्ष बिरेन्द्रले उनीहरुले घुम्नको लागि भारत जाने भनेको तर त्यहाँ काम गर्न थालेको भन्ने थाहाँ नपाएको बताए। उनले बुझेर तुरुन्त घर फर्कन भन्ने बताए। उनीहरुमात्रै होइन अन्य जनप्रतिनिधि पनि भारत जाने सोचमा रहेका छन्। गाउँमै रोजगारी र स्वरोजगारी सिर्जना गर्ने नारासहित चुनाव जितेका प्रतिनिधि आफैं काम खोज्दै विदेशिएपछि वडाका युवाहरु निराश भएका छन्।