डोटीबाट पेटारो बोकेर प्रशासनको टोली बडीमालिका प्रस्थान
डोटीः डोटीबाट प्रशासनको टोली पूजा सामग्री (पेटारो) बोकेर बडीमालिका प्रस्थान गरेको छ।
सोमवार जिल्ला प्रशासन कार्यालय डोटीको नेतृत्वमा टोली पैदल यात्रा गर्दै बडीमालिका प्रस्थान गरेको हो। प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद अर्यालले विशेष पूजाआजा गरी टोलीलाई विदाइ गरेका थिए।
सरकारी पूजा सामग्रीलाई नेपाली सेना र नेपाल प्रहरीको संयुक्त टोलीले सलामी दिएर पञ्चेबाजासहित जिल्ला प्रशासन कार्यालयबाट सोमवार विदाई गरिएको हो। टोलीमा जिल्ला प्रशासन कार्यालयका कर्मचारी, स्थानीय पूजारी तथा सन्तको सहभागिता रहेको छ।
सुदूरपश्चिमको प्रसिद्ध धार्मिक एवं पर्यटकीयस्थल बाजुराको बडीमालिकाका लागि डोटीबाट हरेक वर्ष सरकारी टोली पेटारोसहित पैदल जाने गर्दछ। डोटीको प्रसिद्ध शैलेश्वरी मन्दिर, नाट्यश्वरी मन्दिर र स्थानीय मालिका मन्दिरको पूजा गरी उक्त टोली बडीमालिका प्रस्थान गर्ने प्रचलन चल्दै आएको छ। परापूर्वकालदेखि नै डोटी गौंणाबाट पेटारो जाने चलन रहिआएको प्रमुख जिल्ला अधिकारी अर्यालले बताए।