कञ्चनपुरमा सडकको सौन्दर्यता बढाउन बिरुवा वितरण गरिँदै
कञ्चनपुरः डिभिजन वन कार्यालय कञ्चनपुरले सडकको सौन्दर्यता बढाउन बहुवर्षीय बिरुवा वितरणकार्य सुरु गरेको छ।
सडकको सौन्दर्यता बढाउने ज्याकराण्डा, ढाँक, पारिजात, धुपिसल्ला, गोल्डमोहर प्रजातीका रातो, पहेलो, निलो फुल फुल्ने गुणस्तरीय बहुवर्षीय बिरुवा वितरणको कार्य सुरु गरेको हो। फुल प्रजातीका बिरुवासँगै निम, अमलालगायतका औषधीजन्य बिरुवा वितरणकार्य अगाडि बढाइएको छ। गत आर्थिक वर्षमा वितरण हुन बाँकी रहेका बिरुवा पनि वितरण भइरहेका छन्।
शहर बजारसँगै सडकको सौन्दर्यता बढाउने बिरुवा वृक्षारोपण गर्नका लागि पालिकालाई आग्रह गरिएको वन कार्यालयका सूचना अधिकारी शिवराज अवस्थीले बताए। ‘सौन्दर्यता बढाउने फूल प्रजातीका बिरुवा निःशुल्क रुपमा उपलव्ध गराउने व्यवस्था गरेका छौँ’ उनले भने, ‘पालिकाले माग गरे अनुरुप बिरुवा वितरण भइरहेका छन्।’
बिरुवाको नर्सरीमा स्टक रहन्जेलसम्म चालु आर्थिक वर्षभित्र बिरुवा वितरणकार्य गरिने छ। फुल प्रजातीका बिरुवा रोप्ने सर्वसाधारणलाई पनि बिरुवा उपलव्ध गराइने कार्य भइरहेको छ। वन कार्यालयको नर्सरीमा उत्पादन भएका बहुवर्षीय बिरुवा नीजि कृषक, सङ्घसंस्था, सामुदायिक वन उपभोक्ता समुहले तोकिएको ढाँचामा १० को टिकट टाँस गरिएको निवेदन बिरुवा वितरण कक्षमा दर्ता गरी लैजान पाइने छ। दश वटासम्म बिरुवाका लागि नागरिकताको प्रतिलिपि, निवेदन र दश बिरुवाभन्दा बढीका लागि जग्गाधनी प्रमाणपत्रको प्रतिलिपि र निवेदन दिनुपर्ने छ।
डिभिजन वन कार्यालय कञ्चनपुरले तीन लाख ६० हजार विभिन्न प्रजातीका बिरुवा नर्सरीमा उत्पादन गरेको छ। कार्यालय परिसरमै नर्सरी तयार गरी बिरुवा उत्पादन गरिएका छन्। वन कार्यालयका सूचना अधिकारी अवस्थीका अनुसार जडिबुटीजन्य बिरुवा एक लाख, बहुवर्षे घाँस प्रजातीका ६० हजार, फुल र काष्ठ प्रजातीका दुई लाख बिरुवा नर्सरीमा तयार गरिएका छन्।
जिल्लामा बिरुवाको माग उत्पादन गरेभन्दा दोव्वर बढी भएपनि सीमित बजेटका कारण डिभिवन वन कार्यालयले थोरै मात्रै बिरुवा उत्पादन गर्दै आएको जनाएको छ। केही ठाउँमा नगरपालिकाको बजेटमा बिरुवा उत्पादनकार्य गरिएको छ।