बैतडीको दोगडाकेदार ‘पूर्ण संस्थागत सुत्केरी’ घोषणा
बैतडीः बैतडीको दोगडाकेदार गाउँपालिकाका ६ वटा वडालाई पूर्ण संस्थागत सुत्केरी घोषणा गरिएको छ।
गाउँपालिकालाई नै आगामी आर्थिक वर्षभित्रै पूर्ण संस्थागत सुत्केरी घोषणा गर्ने लक्ष्य राखिएको छ। दोगडाकेदार–१ रिम र दोगडाकेदार–२ कमलपुरबाहेकका अन्य सबै वडा पूर्ण संस्थागत सुत्केरी घोषणा गरिएको दोगडाकेदार गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख नरेन्द्र नाथले बताए।
गाउँपालिकाले बनाएको कार्यविधिअनुसार वडाभित्र रहेका ९८ प्रतिशत गर्भवती स्वास्थ्य संस्थामै सुत्केरी भएको, नियमित रूपमा चारपटक गर्भ जाँच गराएको, सरकारको मापदण्डअनुसार ९० प्रतिशतले गर्भवती टिडी खोप लगाएको, आइरन चक्की, जुका औषधि खाएको, पौष्टिक आहारका लागि परामर्श गरेको, एचआइभी जाँच गरेकोलगायत मापदण्डअनुसार पूर्ण संस्थागत सुत्केरी वडा घोषणा गर्ने गरिएको उनले बताए।