सुदूरपश्चिममा किसानले खेती लगाउन छोडे, कैलालीमा ३,५५० हेक्टर बाँझै
धनगढीः सुदूरपश्चिमका अधिकांश किसानले खेती लगाउन छोडेका छन्। खेती लगाउने किसानको संख्या वर्षेनि घट्दै गएको छ।
बढ्दो विदेश पलायन र बसाइँसराइका कारण खेती लगाउने कृषकको संख्या घट्दै गएको हो। अहिले ५१ हजार हेक्टरभन्दा बढी जमिन बाँझो छ। जनशक्ति पलायन र बसाइँसराइ लगायत कारण बाँझो जमिन बढ्दै गएको छ। ५१ हजार दुई सय ७० हेक्टर जमिन बाँझो रहेको सुदूरपश्चिम प्रदेश कृषि विकास निर्देशनालयले जनाएको छ।
कुल कृषियोग्य जमिन तीन लाख ६९ हजार ७ सय ९६ हेक्टर छ भने तीन लाख १८ हजार पाँच सय २६ हेक्टर जमिनमा मात्रै कृषि भएको छ। कैलालीमा ९० हजार, कञ्चनपुरमा ५९ हजार ६ सय २ र अछाममा ५६ हजार ३४७ हेक्टर जमिन कृषियोग्य छ। डोटीमा तीन हजार २७६, डडेल्धुरामा ११ हजार ६१६, बैतडीमा ३१ हजार ४८५, बाजुरामा २४ हजार ३१९, बझाङमा ३४ हजार ६ सय ७ र दार्चुलामा २९ हजार ५४४ हेक्टर कृषियोग्य जमिन छ।
कृषियोग्य जमिनमध्ये सबैभन्दा बढी १३ हजार ९३४ हेक्टर जमिन अछाम जिल्लामा बाँझो छ। सबैभन्दा कम डडेल्धुरामा ९४९ हेक्टर जमिन बाँझो छ। तराईभन्दा पहाडका जिल्लामा बढी जमिन बाँझो छोडिएको छ। दार्चुलामा ६ हजार ७ सय १९, बझाङमा ६ हजार तीन सय ९३, बाजुरामा ४ हजार १६४, बैतडीमा ५ हजार ७ सय ८५ र डोटीमा ६ हजार ७ सय ७६ हजार हेक्टर जमिन बाँझो छ।
सबैभन्दा बढी कृषियोग्य जमिन रहेको कैलालीमा तीन हजार पाँच सय ५० र कञ्चनपुर तीन हजार हेक्टर जमिन बाँझो छ। प्रदेश कृषि विकास निर्देशनालयका सूचना अधिकारी केशव पाण्डेले जनशक्ति पलायन, बसाइँसराइ, कृषिबाट हुने आम्दानीले घर गुजारा नचल्नु लगायत कारणले जमिन बाँझो रहन गएको बताए।
कुल कृषियोग्य जमिनमध्ये बाजुरा २८ दशमलव ८८, बझाङ्गमा ३३ दशमलव ७४, दार्चुलामा १७ दशमलव ८४, बैतडीमा १४ दशमलव ६३, डडेल्धुरामा ३२ दशमलव ३१, डोटीमा ३८ दशमलव २४, अछाममा ३२ दशमलव २८, कैलालीमा ८७ दशमलव ७४ र कञ्चनपुरमा ८९ दशमलव २१ प्रतिशत जमिनमा सिँचाइ सुविधा पुगेको कृषि गणना २०७८ को प्रतिवेदनमा उल्लेख छ।