सुदूर नेपाललाई विश्वसँग जोड्दै

अत्तरिया उद्योग वाणिज्य संघले डेढ करोडको सम्पत्ति गुमाउँदै

२०८१ वैशाख १९, ०६:४७

वीरेन्द्र भट्ट, धनगढीः निजी क्षेत्रको छाता संगठन कैलालीको अत्तरिया उद्योग वाणिज्य संघले करिब डेढ करोडको सम्पत्ति गुमाउँदैछ।

अत्तरिया उद्योग वाणिज्य संघले बनाएको भवन र वरिपरीको पुरै क्षेत्र सशस्त्र प्रहरीको नाममा रहेको पाइएपछि सो सम्पत्ति गुम्न लागेको हो। तत्कालिन मालाखेती गाविस–४ उत्तर वनखेतमा (हालको गोदावरी नगरपालिका) मा करिब डेढ करोड खर्चेर निर्माण गरिएको संघको भवन नै भत्किने भएको छ।

अत्तरिया उद्योग वाणिज्य संघको नामाङ्कन र गठन हुनुपूर्व नै अत्तरिया बजारको बजारीकरणको रुपमा २०४०÷४२ सालअघि नै बजार विस्तार हुँदै अभिलेखमा उल्लेख भएअनुसार २०६२ सालमा उद्योग व्यापार व्यवस्थापन समिति अत्तरियाको नामबाट बजार व्यवस्थापनको कार्य अघि बढ्दै गएको दाबी छ।

सोही बजार व्यवस्थापन समितिको तत्कालिन मालाखेती गाविस–४ उत्तर बनखेतस्थित कच्ची टहरो रहेको स्थानमा नै हाल अत्तरिया उद्योग वाणिज्य संघको कार्यालय स्थापना गर्न सरोकार निकाय र सबै राजनीतिक दलसँग सहमति गरेको तर्क छ। उद्योग, व्यापार र व्यवसायीको संरक्षण सम्बद्र्धन गर्ने उद्देश्यले उद्योग वाणिज्य संघको कार्यालय स्थापना गरिएको हो। २०७१ जेठ १ गते अत्तरिया उद्योग वाणिज्य संघको स्थापना भएको हो।

अत्तरिया उद्योग वाणिज्य संघले सांसद विकास कोष, तत्कालिन जिल्ला विकास समिति, तत्कालिन गाउँविकास समिति, गोदावरी नगरपालिका, विभिन्न उद्योग, व्यवसायी, व्यक्ति लगायतको सहयोगमा करिब डेढ करोड रुपैयाँ खर्चेर निर्माणाधीन अवस्थामै रहेको संघको भवन र वरिपरीको क्षेत्र सशस्त्र प्रहरीको नाममा देखिएको छ।

अत्तरिया उद्योग वाणिज्य संघ गठन र कार्यालय भवन निर्माण भएको लामो समयसम्म कहिँकतैबाट अवरोध सिर्जना नभएको अवस्थामा अहिले आएर सशस्त्र प्रहरी बलले लिन खोजेपछि यहाको निजी क्षेत्र चकित बन्न पुगेको संघका अध्यक्ष कल्यानसिंह बोहराले बताए। हाल आएर सशस्त्र प्रहरी बल नेपाल सुदूरपश्चिम प्रदेश बैद्यनाथ बाहिनीको भोगाधिकारभित्र पारिएको बुझिएको अध्यक्ष बोहराले बताए।

यस विषयमा पटकपटक विभिन्न समितिमार्फत नेपाल सरकारलाई ध्यानाकर्षण, विज्ञप्ती तथा आवश्यक पहल समेत गरिसकिएको संघले बताएको छ। अहिले अत्तरिया उद्योग वाणिज्य संघले घेरबार गरेको जमिनमा सशस्त्र प्रहरीले बेडमेन्टिङ्ग कोर्ड बनाउन निर्माण सामग्री राखिसकेको छ। संघको भोगचलनमा रहेको जमिनका विषयमा छलफल तथा निर्णय गर्नुपर्ने भएकाले केही समयका लागि निर्माण कार्य रोकेर सहयोग गरिदिन अत्तरिया उद्योग वाणिज्य संघले सशस्त्र प्रहरी बललाई अनुरोध समेत गरेको छ।

No description available.

कमेन्ट लोड गर्नुस