सुदूर नेपाललाई विश्वसँग जोड्दै

थोरै जग्गामा धेरै तरकारी फलाएर गतिलो आम्दानी गर्दै दलबहादुर

२०८० फाल्गुन १५, ०३:५२ खबर संवाददाता

कञ्चनपुरः बेदकोट नगरपालिका–४ बैतोडाका दलबहादुर बोहराले थोरै जग्गामा तरकारीखेती गरी घरखर्च सहजरूपमा चलाउँदै आएका छन्।

चार कठ्ठा जग्गामा व्यावसायिक तरकारीखेती गरेर उनले वर्षमा दुई लाख बढी आम्दानी गर्दै आएका छन्। बाह्रै महिना बोहराको बारीमा तरकारीखेतीमात्रै हुने गरेको छ। तरकारीखेतीबाटै खर्च चल्न थालेपछि विगतमा जस्तो उनलाई अहिले घरखर्च चलाउन भारत जानुपरेको छैन। कोरोना महामारीका कारण भारतीय सहर बैङ्गलोरमा सेल्समेनको जागिर छुटेपछि बोहरा तीन वर्षअघि घर फर्किएका हुन्।

घर फर्केपछि बोहराले तीन वर्षदेखि व्यावसायिकरूपमा तरकारीखेती गर्दै आएका छन्। तरकारीखेतीबाटै उनको परिवारको घरखर्च सहजरूपमा चल्न थालेको छ। उनी भन्छन्, ‘मोबाइलमा युट्युब हेर्थे, थोरै जग्गामा पनि मौसमी बेमौसमी तरकारीखेती गरेर मनग्य आम्दानी गरेको देखेँ, त्यसपछि तरकारीखेती गर्ने निधो गरेँ, तरकारी खेती त गर्ने कसरी गर्ने भन्ने प्रश्न उब्जिन थाल्यो।’ बोहराले तरकारीखेती गर्ने जग्गा भने चार कठ्ठा जतिमात्रै छ।

त्यहीँ जग्गामा काउली, गोलभेँडा, काँक्रा, तितेकरेला, बोडी, आलुलगायत तरकारी मौसमी र बेमौसमीरूपमा लगाउँदै आएका छन्। तरकारीखेतीबाट आएको आम्दानी खर्च गरेर उनले दुईवटा प्लाष्टिक टनेल निर्माण गरेका छन्। आलुलगायतका मौसमी तरकारी टनेल बाहिरै रोपेर उनले आम्दानी गर्दै आएका छन्। अन्य लहरे तरकारी टनेलभित्रै रोप्ने गर्छन्। तरकारीखेतीकै लागि उनले वर्षमा ६५ हजार बढी लगानी गर्दै आएका छन्।

लगानी कटाएर वर्षमा एकदेखि एक लाख ८० हजारसम्म उनले आम्दानी गर्दै आएका छन्। तीन जनाको परिवारका लागि लत्ताकपडा, खाद्यान्न र अन्य खर्च चल्ने गरेको बोहरा बताउछन्। उत्पादित तरकारी अधिकांश बारीबाटै बिक्री हुने गरेको छ। बिक्री हुन नसकेका तरकारी बोहरा साइकलमा राखेर गाउँ डुलाउँदै बेच्ने गर्छन्। तरकारीखेतीमै भविष्यका सपना बुन्न थालेकाले थप जग्गा भाडामा खोजेर ठूलो परिमाणमा तरकारी उत्पादन गर्ने धोको रहेको बोहरा बताउछन्। बैतोडा गाउँमा व्यावसायिक तरकारीखेती गर्ने बोहरा एक्ला किसान हुन्। –रासस

कमेन्ट लोड गर्नुस