दैजी–छेला औद्योगिक क्षेत्रको तीन दशकपछि मात्र चार किल्ला तोकियो
धनगढीः कञ्चनपुरको दैजी–छेला औद्योगिक क्षेत्र निर्माणको चर्चा सुरु भएको तीन दशकपछि मात्र चार किल्ला तोकिएको छ।
चर्चा मात्रै हुने तर सरकारी प्राथमिकतामा नपर्ने अवस्थाका कारण औद्योगिक क्षेत्र निर्माणको काम अनिश्चित बन्न पुगेको छ। औद्योगिक क्षेत्र निर्माणको नाममा पटकपटक यहाँका उद्योगी व्यवसायीलाई झुक्याउने काम मात्र हूँदै आएको निजी क्षेत्रको गुनासो छ। औद्योगिक क्षेत्रको नाममा जग्गाको भोगाधिकार प्राप्त नभएपछि निर्माण कार्य नै अनिश्चित बन्न पुगेको हो।
२०५२ सालदेखि चर्चामा आएको दैजी–छेला औद्योगिक क्षेत्रका लागि २०६६ सालमा तत्कालीन जिल्ला वन कार्यालय कञ्चनपुरले जग्गा उपलब्ध गराउने निर्णय गरेको थियो। त्यसपछि २०७२ सालमा सरकारले जनचेतना सामुदायिक वन र वेदकोट सामुदायिक वनको ९ सय बिघा जमिनमा चार किल्ला तोकी औद्योगिक क्षेत्र बनाउने निर्णय भएको थियो। २०७३ माघ १४ गते चार किल्ला संशोधनसमेत भएको हो।
२०७७ फागुन १० गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले औद्योगिक क्षेत्रको शिलान्याससमेत गरेका थिए। तर औद्योगिक क्षेत्रको हालसम्मको प्रगति भने निराशाजनक रहेको वेदकोट नगरपालिकाका नगर प्रमुख भोजराज बोहराले बताएका छन्। औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडको पहिलो डिपिआर अनुसार २५ हजार ९ सय ७८ रुख रहेकोमा डिभिजन वन कार्यालय कञ्चनपुरले हाल ४३ हजारभन्दा बढी रुखहरू काट्नुपर्ने भन्दै लगत सङ्कलन गरेको छ।
वेदकोट नगरपालिका २ र ३ नम्बर वडामा रहने सो औद्योगिक क्षेत्रको लागत ९ अर्ब अनुमान गरिएको छ। अध्ययन प्रतिवेदन अनुसार दैजी–छेला औद्योगिक क्षेत्रभित्र खाद्य, वन तथा कृषि, धातु, प्लास्टिक, इन्जिनियरिङ र फेब्रिकेटिङ, मिनिरल वाटर, कागज, सिमेन्ट, छडलगायत एक सय उद्योग स्थापना गर्न सकिने छ। तर सरकारी तवरबाटै भइरहेको ढिलाइले औद्योगिक क्षेत्र निर्माणको विषय अनिश्चित बन्न पुगेको छ।