सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिमका पर्यटकीय क्षेत्र सुनसान, पर्यटन व्यवसायी निराश

२०८० कार्तिक ११, ०६:४१ नारायण अवस्थी

धनगढीः सुदूरपश्चिमका पर्यटकीय क्षेत्रमा सुनसान देखिएको छ। आन्तरिक पर्यटनको विकास र विस्तार गरेर पर्यटन क्षेत्रबाट लाभ लिन सकिने पर्यटन व्यवसायी मायाप्रकाश भट्टले बताए। उनले धार्मिक पर्यटन लागि महत्वपूर्ण मानिएको सुदूरपश्चिम प्रदेशमा पर्यटन क्षेत्रको विकास र विस्तार गर्न आन्तरिक पर्यटनमा जोड दिनुपर्ने बताए।

नौ देवी अर्थात शक्तिपीठ र पाँच शिवधाम सहित देवभूमिका रुपमा सयौं देवस्थल रहेको सुदूरपश्चिममा शुक्लाफाँटा र खप्तड राष्ट्रिय निकुञ्ज, रामारोशन, घोडाघोडी, अपि र सैपाल जस्ता प्राकृतिक पर्यटकीय गन्तव्य छन्। कर्णाली, सेती र महाकाली सहित तिनका सहायक नदीले सिञ्चित सुदूरपश्चिम कला संस्कृति र मौलिक परिवेशका कारण स्वदेशी र विदेशी पर्यटकका लागि आकर्षक गन्तव्य बन्न सक्ने सम्भावना बोकेको क्षेत्र हो।

तर, पनि प्रचुर सम्भावना हुँदाहुँदै पनि सुदूरपश्चिममा पर्यटकको संख्या बढ्न सकेको छैन। सुदूरपश्चिममा आर्थिक वर्ष २०७४/७५ मा ३ लाख ६२ हजार ८३१ जना आन्तरिक पर्यटकले सुदूरपश्चिमका विभिन्न धार्मिक पर्यटकीय गन्तव्यको भ्रमण गरेका छन्। यसैगरी, आर्थिक वर्ष २०७५/७६ मा ४ लाख २८ हजार ६५३ जना, आर्थिक वर्ष २०७६/७७ मा ८० हजार ७३०, आर्थिक वर्ष २०७७/७८ मा ८१ हजार ६८५ र आर्थिक वर्ष २०७८/७९ मा ३ लाख ४ हजार १८७ जनाले सुदूरपश्चिमका धार्मिक पर्यटकीय स्थलको भ्रमण गतेको राष्ट्र बैंक धनगढीले तयार गरेको अध्ययन प्रतिवेदनमा उल्लेख छ।

पाँच आर्थिक वर्षमा सुदूरपश्चिममा १२ लाख ५८ हजार ८६ जनाले भ्रमण गरेका छन्। आन्तरिक पर्यटकको यो संख्यालाई हरेक वर्ष बढाउने गरी पर्यटन क्षेत्रमा आवश्यक काम हुनुपर्ने पर्यटन व्यवसायी मायाप्रकाश भट्टको तर्क छ। ‘आन्तरिक पर्यटनलाई बढाउने गरी काम गरिनु जरुरी छ’, उनले भने, ‘आन्तरिक पर्यटक बढाउन यहाँका स्थानीय तहहरू बीच सहकार्य र समन्वय   भयो भने आन्तरिक पर्यटनबाट धेरै फाइदा लिन सकिन्छ।’

सुदूरपश्चिममा अत्यावश्यक तथा स्तरीय पर्यटनमैत्री पूर्वाधारको विकास नहुँदा पर्यटन क्षेत्रबाट लाभ लिन सकिएको छैन। प्रादेशिक आन्तरिक हवाई सेवा, धार्मिक तथा पर्यटकीय गन्तव्यसम्म पुग्ने स्तरीय सडक, पदमार्गमा यथेष्ट आरामदायी आवासगृह तथा रेष्टुरेन्ट, आधुनिक पर्यटन सूचना केन्द्र नहुँदा पर्यटनको विकास हुन सकेको छैन।

पर्यटकहरूलाई पर्यटकीय गन्तव्यको डिजिटल प्लेटफर्ममा सूचना प्रदान गर्ने संयन्त्र विकास गरेर प्रदेशको पर्यटनको विकास गर्न केही सहज हुने महेन्द्रनगरका पर्यटन व्यवसायी परमानन्द भण्डारीले बताए। ‘सुदूरपश्चिमका पर्यटकीय गन्तव्यको प्रचार–प्रसार नै भएको छैन भने पर्यटकीय गन्तव्यको व्यापक प्रचार–प्रसार गर्न सकिए यहाँका गन्तव्यमा आन्तरिक र बाह्य पर्यटक आउँछन्।

पर्यटकीय गन्तव्य नजिकै स्वास्थ्य केन्द्र, आपतकालीन पर्यटक खोज तथा उद्दार केन्द्र तथा उपकरण, पर्यटन प्रहरी नहुनु जस्ता चुनौतीले पनि सुदूरपश्चिममा बाह्य पर्यटको संख्या बढ्न नसकेको पर्यटन व्यवसायीको ठहर छ। पर्यटन पूर्वाधारको विकाससँगै प्रदेशको पर्यटनको विकासका लागि आन्तरिक पर्यटनलाई बढाउनुपर्ने तर्क पर्यटन व्यवसायीले गरेका छन्।

स्थानीय तहहरूले आपसमा समन्वय र सहकार्य गरेर प्रदेशको आन्तरिक पर्यटन विकासमा जुट्नुपर्ने धनगढीका पर्यटन व्यवसायी भट्टले बताए। प्रदेश भित्रका धार्मिक पर्यटकीय क्षेत्रमा पूर्वाधार विकास गर्न स्थानीयलाई पनि सम्मीलित गर्नुका साथै पर्यटन व्यवसायीका लागि लगानीको वातावरण निर्माण गर्न सके सुदूरपश्चिममा आन्तरिकसँगै बाह्य पर्यटकाको संख्या बढ्ने सम्भावना रहेको पर्यटन व्यवसायीले बताएका छन्। जसका लागि विद्यमान धार्मिक पर्यटकीय स्थलहरूको बजारीकरण एवं नयाँ गन्तव्यहरूको पहिचान गरी पर्यटकीय क्षेत्रको नक्साङ्कन तथा आधुनिक सूचना प्रविधिको उपयोग गरि प्रचारप्रसार गर्नु आवश्यक छ।

नारायण अवस्थी दिनेश खबरका संवाददाता हुन्। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस