सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा उज्यालो अर्थतन्त्रको सुरुवात, अब १९ वडामै ‘हाइमाष्ट’

फोटो : कमल सावद
फोटो : कमल सावद
२०८० कार्तिक ३, ०१:१९ खबर संवाददाता

धनगढीः सुदूरपश्चिम प्रदेशको एक मात्र उपमहानगर धनगढीमा उज्यालो अर्थतन्त्र (लाइट इकोनोमिक) को सुरुवात भएको छ।

पहिलो चरणमा धनगढी चौराहदेखि एयरपोर्ट अगाडी ६ दशमलव ६ किलोमिटर मोहनापुल–अत्तरिया ६ लेन सडकको धनगढी क्षेत्रभित्र स्मार्ट स्ट्रिट लाइट जडान भएर उज्यालो अर्थतन्त्रको सुरुवात गरिएको हो। साँझ ६ नबज्दै सुनसान हुने धनगढी चौराह–बोराडाँडी–राजपुर–मोहनपुुर एयरपोर्ट क्षेत्र ८ मिटर स्टील ट्युबलर पोलमा दुई सय १२ थान, १२० वाट लाइट चार सय ३२ थान जडान गरेर बत्ती बाल्ने काम भएपछि राति १० बजेसम्मै सो क्षेत्रमा चहलपहल हुने गरेको छ। यसअघि साँझ ६ नबज्दै बन्द हुने व्यापार–व्यवसाय बत्ती बाल्ने काम भएपछि व्यवसायीले समेत सुरक्षाको अनुभूति गर्न थालेका छन्। झिलिमिली उज्यालोका कारण महिला तथा बालबालिकाले समेत सुरक्षाको अनुभुति गर्न थालेका हुन्।

पहिलो चरणको स्मार्ट स्ट्रिट लाइट जडानका लागि धनगढी उपमहानगरपालिकाको ६० तथा नेपाल विद्युत प्राधिकरण राष्ट्रिय सडक बत्ती प्रबद्र्धन आयोजनाको ४० प्रतिशत लागत साझेदारीमा दुई करोड ६१ लाख ७५ हजार ४६ रुपैयाँ खर्चेर ६ लेन सडकको धनगढी क्षेत्रमा ६ दशमलव ६ किलोमिटर क्षेत्रभित्र स्मार्ट स्ट्रिट लाइट जडान गरिएको हो। त्यस्तै १६ मिटर उचाईमा १५ थान हाइ माष्ट लाइट समेत उपमहानगरको ९७ लाख ४९ हजार ६ सय ४० रुपैयाँको एकल लगानीमा जडान भएर धनगढीलाई उज्यालो बनाउने काम भएको छ। त्यस्तै स्मार्ट सडक बत्ती तथा हाइमाष्ट र मिनी माष्ट लाइट जडान उज्यालो धनगढी कार्यक्रम अन्तर्गत उपमहानगर र प्राधिकरणसँगको तेस्रो चरणको सडक बत्ती जडान गर्न २०८० असार १३ गते सम्झौता भएको थियो। उपमहानगरको ७० तथा प्राधिकरणको ३० प्रतिशत लागत सहभागिता रहने गरी उक्त कार्यक्रम सञ्चालन भएको थियो। यसका लागि चार करोड ८७ लाख ५९ हजार पाँच सय ९७ रुपैयाँ २५ पैसा अनुमान गरिएको छ।

धनगढीले ७० प्रतिशत रकमको ५० प्रतिशत रकमले हुन आउने एक करोड ७० लाख ६५ हजार ८ सय ४५ रुपैयाँ नेपाल विद्युत् प्राधिकरण (राष्ट्रिय सडक बत्ती प्रबद्र्धन) कार्यक्रमलाई पठाइएको उपमहानगरले जनाएको छ। तेस्रो चरणको उज्यालो धनगढी कार्यक्रम अन्तर्गत हिजो (बिहिवार) साँझ धनगढी चौराहदेखि त्रिनगर भन्सार तथा क्याम्पस रोड क्षेत्रमा स्मार्ट स्ट्रिट लाइट जडान गरेर बत्ती बाल्ने कामको सुरुवात भएको छ। अँध्यारो क्याम्पस रोड क्षेत्र विहिबार रातिदेखि झिलीमिली भएको छ।

साथै धनगढी चौराहदेखि त्रिनगर भन्सार क्षेत्र पनि धनगढी चौराह–चटकपुर–बोराडाँडी—राजपुर–मोहनपुर एयरपोर्ट जस्तै बत्तीको उज्यालोले झिलीमिली बन्न पुगेको हो। धनगढीलाई हरित र उज्यालो अर्थतन्त्रको रुपमा विकास गर्न चाहेको नगरप्रमुख गोपाल हमालले बताए। ‘साँझ ६ नबज्दै सुनसान हुने धनगढीलाई बत्तीले झिलिमिली पारेर उज्यालो अर्थतन्त्रको रूपमा विकास गर्ने योजना छ।’ उनले भने, ‘बजार तथा सडक क्षेत्रमा उज्यालो भयो भने असुरक्षा हुँदैन। साथै ६ नबज्दै व्यापार–व्यवसाय बन्द गर्नु पर्दैन। उज्यालोमा चहलपहल बढ्छ र त्यसले व्यापार–व्यवसाय गर्नेलाई फाइदा पुग्छ।’

अर्थतन्त्र थप चलायमान हुने अपेक्षासहित चौथो चरणको उज्यालो धनगढी अन्तर्गत कालिका मन्दिर क्षेत्र र जुगेडा जाने बाटोमा पनि यस्तै लाइट जडानका लागि टेन्डर भएर काम भइरहेको छ। धनगढीका १९ वटै वडामा हरेक वडाभित्र एक/एक वटा हाइमाष्ट लाइट जडानका लागि पनि टेन्डर भइसकेको उपमहानगरले जनाएको छ। क्रमिक रूपमा धनगढीका सबै क्षेत्रमा लाइट जडान गरेर उज्यालो अर्थतन्त्रको विकास गर्न चाहेको नगरप्रमुख हमालले जानकारी गराए। ‘यो अभियान निरन्तर अघि बढ्छ, यो कहीँ रोकिनेवाला छैन्।’

कमेन्ट लोड गर्नुस