सुदूरपश्चिम प्रदेशभित्र १३९ ठूला उद्योग दर्ता
धनगढीः सुदूरपश्चिम प्रदेश संभावनाको प्रदेश हो। उद्योग, कृषि, जडिबुटी र उर्जा उत्पादनमा सुदूरपश्चिमको संभावना अग्रस्थानमा देखिए पनि ती संभावनाहरुको उत्खनन् भने अझै हुन सकेको छैन्।
ठूला उद्योगको संभावना पर्याप्त भएर पनि लगानी भित्र्न सकेको छैन्। निजी क्षेत्रले सुदूरपश्चिममा लगानी गर्न चाहे पनि त्यसका लागि उचित वातावरण समेत अझै बन्न सकेको छैन्। निजी क्षेत्रबाट सुदूरपश्चिमका विभिन्न जिल्लामा गरी एक सय ३९ उद्योग स्थापनाका लागि दर्ता गरेका छन्।
तर सञ्चालनमा कहिले आउने कुनै टुंगो छैन्। लगानीमैत्री वातावरण अझै बनिनसकेको भन्दै दर्ता भएका ती उद्योगमा लगानी भने आउन सकेको छैन्। कृषि, जडिबुटी, खानी, सिमेन्ट लगायत उद्योगको प्रदेशभित्र ठुलो संभावना भएर पनि प्रदेश सरकारले लगानी भित्र्याउन उचित वातावरण बनाउन नसकेको निजी क्षेत्रको गुनासो छ।
यहाँ निर्यातमुलक उद्योगको संख्या शून्य प्रायः छ। औद्योगिक क्षेत्र घोषणा गरिएको भए पनि पूर्णता कहिले पाउने कुनै टुंगो छैन्। नेपाल राष्ट्र बैंक धनगढीले गरेको पछिल्लो अध्ययन प्रतिवेदनअनुसार सुदूरपश्चिममा कुल एक सय ३९ वटा मात्र ठूला उद्योग दर्ता छन्। लघु घरेलु तथा साना ४९ हजार ७ सय ८९ उद्योग दर्ता छन्। ती उद्योगमा ६० अर्ब एक करोड मात्र लगानी देखिएको छ। सो लगानी साना उद्योगमा मात्र भएको पाइएको छ।
प्रदेशभित्र दर्ता भएका उद्योग खोल्न र बन्द भएका उद्योग सञ्चालनका लागि तीन तहकै सरकारले उचित वातावरण बनाइदिने हो भने थप लगानी गर्न निजी क्षेत्र तयार रहेको उद्योगी व्यवसायी बताउँछन्। कञ्चनपुरकै दैजी–छेलामा उद्योग स्थापना गर्न धेरै उद्योगी व्यवसायीले चासो देखाएका छन। तर औद्योगिक क्षेत्रले कहिले पूर्णता पाउँछ भन्ने नै एकिन नहँुदा प्रदेशभित्र उद्योग क्षेत्रमा लगानी आउन सकेको छैन्।