सुदूरपश्चिममा फस्टाउँदै बीमा व्यवसाय, वर्षदिनमै ८ अर्ब २७ करोड बढी सङ्कलन
धनगढीः नेपालमा चार प्रकारका बीमा कम्पनी छन्। ती मध्ये सबैभन्दा बढी जीवन बीमा कम्पनीहरु छन्। सुदूरपश्चिममा मात्र जीवन बीमा कम्पनीका १४ कार्यालय छन्।
जीवन बीमा कम्पनीले मात्र गत आर्थिक वर्ष २०७९/८० मा सात अर्ब ४९ करोड रुपैयाँ सङ्कलन गरेका छन्। सुदूरपश्चिममा निर्जीवन बीमा कम्पनीका १३ वटा कार्यालय छन्। ती कम्पनीले सो अवधिमा एक अर्ब रुपैयाँ सङ्कलन गरेको तथ्यांक छ। धनगढीमा एक लघु बीमा कम्पनीसमेत छ। लघु जीवन बीमा कम्पनीले एक वर्षमा आठ करोड १५ लाख तथा लघु निर्जीवनतर्फ चार करोड ११ लाख सङ्कलन भएको छ।
गत वर्ष मात्रै सुदूरपश्चिम प्रदेशबाट बीमा कम्पनीहरूले ८ अर्ब २७ करोड २६ लाख बढी रकम सङ्कलन गरेका हुन्। नेपाल बीमा प्राधिकरण, सुदूरपश्चिमका प्रमुख हरिदयाश्वर पण्डितका अनुसार बीमा कम्पनीहरूका शाखाहरूले ठुलो परिमाणको रकम गत आर्थिक वर्षमा सङ्कलन गरेका छन्। पण्डितले दिनेशखबरसँग भने, ‘सुदूरपश्चिम प्रदेशबाट सात अर्ब ४९ करोड जीवन बीमा कम्पनीले मात्र सङ्कलन गरेका छन्।’ नेपालका बीमा कम्पनीहरूले गत आर्थिक वर्षमा ८३ अर्ब रुपैयाँ दाबी भुक्तानी दिएका छन्। तर, सुदूरपश्चिमका बीमा कम्पनीका शाखाहरूबाट मात्र भएको दाबी भुक्तानीको तथ्याङ्क बीमा प्राधिकरणसँग छैन्।
नेपालका जीवन बीमा कम्पनीहरूले गत आर्थिक वर्षमा ५८ अर्ब भुक्तानी दिएका छन्। निर्जीवन बीमा कम्पनीहरूले २३ अर्ब ५२ करोड भुक्तानी दिएका छन्। नेपाल बीमा प्राधिकरणसँग सुदूरपश्चिमका बीमा कम्पनीहरूले मात्र दिएको दाबी भुक्तानीको तथ्याङ्क छैन। उनले सुदूरपश्चिमका बिमितहरूले दाबी भुक्तानी पाएको रकमको हिसाब दिन सकिने बताए।
सुदूरपश्चिममा सञ्चालनमा रहेका बीमा कम्पनीका शाखा कार्यालयहरूले सम्झौता अनुसार दाबी भुक्तानी नदिएको भन्दै निवेदनसमेत पर्ने गरेका छन्। कम्पनीले सम्झौता अनुसार रकम नदिएको, दाबी भुक्तानीका लागि बढी समय लगाएको, पूरा भुक्तानी नदिएको, बीमा कम्पनीका अभिकर्ताहरूले सर्तहरू नबुझाएको, जबरजस्ती बीमा गर्न लगाएको जस्ता समस्या प्राधिकरणमा आउने गरेका छन्। सुदूरपश्चिमका चारवटा बीमा कम्पनी विरुद्धको उजुरी आवश्यक कारबाहीका लागि केन्द्र पठाइएको छ। नेपाल बीमा प्राधिकरण, सुदूरपश्चिमका प्रमुख हरिदयाश्वर पण्डितले बीमा क्षेत्रका समस्या समाधानका लागि प्रयास जारी रहेको बताए। उनले भने, ‘बीमा कम्पनीका शाखाहरूमा नियमित निरीक्षण गर्दै आएका छौ। अहिलेसम्म चार कम्पनीमा अनुगमन गरेका छौ। केही बीमा कम्पनीलाई कारबाहीका लागि कागजी प्रमाणसहित केन्द्र पठाएका छौ।’