कैलालीको भजनीमा ७ सय हेक्टरमा हिउँदे धान खेती विस्तार
धनगढीः कैलालीको भजनी नगरपालिकामा हिउँदे धान खेतीमा किसानको आकर्षण बढेको छ। यो वर्ष नगरपालिकामा ७ सय बढी हेक्टरमा धान खेती गरिएको छ। हिउँदे धानको उत्पादन वर्षे धानभन्दा बढी रहेको कृषि अधिकारीले बताएका छन्। भजनीको सबै क्षेत्रमा हिउँदे धान खेती गर्न सकिने भए पनि सिँचाइ अभावका कारण धान खेतीको विस्तार नगरपालिकाको सबै वडामा हुन सकेको छैन।
वर्षे धानभन्दा हिउँदे धान प्रति हेक्टरमा बढी फल्ने कृषि ज्ञान केन्द्र धनगढीका प्रमुख खगेन्द्रप्रसाद शर्माले बताए। ‘हिउँदे धान वर्षे धानभन्दा बढी उत्पादन हुने गर्छ,’ उनले भने, ‘एक हेक्टरमा हिउँदे धान ५० क्वीन्टल फल्छ भने वर्षे धान ४५ क्वीन्टल मात्रै फल्छ।’ भजनी नगरपालिकामा यो वर्ष सात सय बढी हेक्टरमा धान खेती गरिएको छ। बर्सेनि बर्सादको समयमा डुबानको समस्या हुने भजनीमा हिउँदे धान खेतीमा किसानको आकर्षण बढेको छ।
भजनी नगरपालिका वडा नम्बर ३ र ८ मा सबैभन्दा बढी क्षेत्रमा हिउँदे धान खेती गरिएको छ। भजनीका किसानहरू अहिले हिउँदे धान भित्र्याउन व्यस्त छन्। कैलालीमा यो वर्ष १ हजार १ सय बढी हेक्टर क्षेत्रफलमा हिउँदे धान खेती गरिएकोमा सबैभन्दा बढी भजनीमा गरिएको कृषि ज्ञान केन्द्र धनगढीका प्रमुख शर्माले बताए। ‘कैलालीमा यो वर्ष १ हजार १ सयभन्दा बढी हेक्टर जग्गामा हिउँदे धान खेती गरिएको छ,’ उनले भने, ‘किसानको हिउँदे धान खेतीमा आकर्षण बढेको छ।
तर, सिँचाइको सुबिधा सबै क्षेत्रमा नहुँदा खेती विस्तारमा समस्या भएको महसुस गरिएको छ।’ हिउँदे धान खेती गर्न स्थानीय, प्रदेश र स्थानीय सरकारले बिउ र प्रबिधिमा किसानहरूलाई सहयोग गरेको छ। प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, धान सुपरजोन कार्यक्रम र मुख्यमन्त्री कृषि कार्यक्रमले हिउँदे धान खेती गर्न किसानहरूलाई सहयोग गरेका छन्। तर, किसानहरूले सिँचाइको सुबिधा नहुँदा ठुलो क्षेत्रमा अझै धान खेती गर्न नसकिएको बताएका छन्।
सिँचाइ सुविधा उपलब्ध गराउन विद्युत विस्तार गर्न सकिए हिउँदे धान सतप्रतिशत क्षेत्रमा लगाउन सकिने भजनीका किसानहरूले बताएका छन्। उनीहरूले सबै क्षेत्रमा नहर नपुगेको, डिजेलबाट सिँचाइ गर्दा महङ्गो हुने गरेको बताएका छन्। किसानहरूले बिउ, मल र सिँचाइको सुबिधा विस्तार गर्न सकिए हिउँदे धान खेती गरेर किसानले फाइदा लिन सक्ने बताएका छन्। भजनीम उत्पादित हिउँदे धान खरिद गर्न चिउरा मिल सञ्चालक किसानको खोतमै पुग्ने गरेका छन्।
हिउँदे धानमा जिङ्कको मात्र बढी हुने र मसिनो पनि हुने भएकाले भात खानका लागि पनि राम्रो मानिने कृषि अधिकारीहरूले बताएका छन्। भजनीका किसानले १६ किसिमका हिउँदे धानको खेती गरेका छन्। किसानहरूले एक सय दिनदेखि १५० दिनमा काट्न तयार हुने धान बाली लगाएका छन्। डुबानका कारण वर्षे धान खेती नहुने समस्या रहेको भजनीमा हिउँदे धानको क्षेत्र बढाउने नीति स्थानीय सरकारले लिएको छ।
सिँचाइ र मलको समस्या समाधान गरेर हिउँदे धान सतप्रतिशत क्षेत्रमा विस्तार गर्न नगरपालिकाले आवश्यक काम गर्ने नगरप्रमुख केवल चौधरीले बताए। उनले सिँचाइको पहुँच विस्तार गर्न विद्युत लाइनको विस्तार गर्न, मल र बिउको उपलब्धता सहज बनाउन प्रयत्न गरिने बताए। भजनीका किसानले विभिन्न १६ प्रजातिका हिउँदे धान रोपेका छन्। जसमध्ये हर्दिनाथ ४, हर्दिनाथ १, हर्दिनाथ १६, चैते ५, बिआरआई ६६, बिआरआई ७४, बिआरआई १०० प्रजातिको धानको खेती राम्रो रहेको बताएका छन्। हिउँदे धान खेती गर्न माघको १५ गतेभित्र बेर्ना राखिसक्ने र फागुन पहिलो हप्ताभित्र रोपाइ गर्न सके जेठ १५ गतेभित्र धान भित्र्याउन सकिन्छ।