सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिममा रासायनिक मलको अभाव

२०८० जेठ १४, १०:५४ कमल सावद

धनगढीः कैलाली–कञ्चनपुरका किसानले धानको बिउ राखिसकेका छन्। किसानहरु मल–खाद्यको जोहो गर्दैछन्। तर सुदूरपश्चिममा यो पटकको बर्खामा पनि मलको अभाव हुने देखिएको छ।

कृषि सामाग्री कम्पनी र साल्ट ट्रेडिङ कम्पनीले मलको आपूर्ति गर्न नसकेका हुन। साल्ट ट्रेडिङ धनगढीका सूचना अधिकारी रामचन्द्र जोशीले मलको मौज्दात न्यून रहेको बताए। ‘मौज्दातमा त हामीसँग डिएपी २ सय ३ बोरो मात्रै छ। जगेडा भनेर राखिएको हो। युरिया छैन। आउनेक्रममा छ,’ उनले भने।

कैलालीमा मात्र १८ हजार मेट्रिकटन डिएपी, १५ हजार मेट्रिकटन युरिया र पाँच हजार मेट्रिकटन पोटासको माग छ। तर प्रदेशमा मल बिक्री वितरणको जिम्मेवारी पाएका कृषि सामाग्री कम्पनी र साल्ट ट्रेडिङले मलको आपूर्ति गर्न सकेका छैनन्। अन्तर्राष्ट्रिय बोलपत्रका अतिरिक्त कृषि सामग्री र साल्ट ट्रेडिङ कम्पनीले जिटुजीअन्तर्गत भारत सरकारका आधिकारिक निकायबाट मल आयात गर्दै आएको छ। भारतबाट मलको आपूर्ति सहज नभको दाबी गरिएको छ। ‘भारतबाट २६ हजार पाँच सय मेट्रिक टन पहिलो चरणमा आउने हो। सुदूरपश्चिमको २ हजार २ सय तीन मेट्रिक टन कोटा हो,’ जोशीले भने। 

कृषि सामग्री कम्पनीसँग हाल दुई सय ५० मेट्रिकटन युरिया मौज्दात छ। यूरिया २ हजार २ सय ८६ मेट्रिकटन यूरिया साल्ट ट्रेडिङले वितरण गरेको छ। एक हजार ६ सय ६३ मेट्रिकटन डिएपी वितरण गरिएको छ। साल्ट्र ट्रेडिङसँग २ सय ३ बोरा मात्र डिएपी मौज्दाज रहेको छ। २ हजार २ सय तीन मेट्रिकटन युरिया आपूर्ति हुँदैछ। डिएपीको आपूर्ति भने असारमा मात्र हुने बताइएको छ। साल्ट ट्रेडिङ धनगढीका सूचना अधिकारी जोशीले डिएपीसमेत भारतबाट आउने क्रममा रहेको बताए। तर भारतबाट आउने भएकाले कहिलेसम्म पुग्ने भन्ने निश्चित छैन। 

सुदूरपश्चिमका स्थानीय तहहरुमा वितरण गर्नुपर्ने मलको निर्णयसमेत भएको छैन। प्रदेशमा युरिया मलको आपूर्ति थालिएको भएपनि डिएपीको समस्या हुने देखिएको हो। सुदूरपश्चिम प्रदेशमा रासायनिक मलको अभाव देखिएको छ। कृषि सामाग्री कम्पनी र साल्ट ट्रेडिङ कम्पनीले रासायनिक मलको आपूर्ति गर्न नसक्दा धान बिउ राख्न किसानलाई समस्या भएको हो। प्रदेशमा आपूर्ति भएको रासायनिक मल वितरण गरिएको छ भने थप मलको माग गरिएको छ।

सुदूरपश्चिमका किसानले बर्खे खेतीका लागि मल नपाउने समस्या यस वर्ष पनि दोहोरिने देखिएको छ। किसानले धानको बिउ राखेको भए पनि मलको सहज आपूर्ति अझै हुन सकेको छैन्। धान रोप्ने समय नजिकिदै गर्दा मल नपाउने चिन्ता किसानलाई परेको छ। 

कमल सावद, दिनेश खबरका संवाददाता हुन्। उनी अर्थतन्त्र,पुर्वाधार र विकासमा केन्द्रित कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस