जानकी गाउँपालिकामा विद्यालय कृषि कार्यक्रम, विद्यार्थीलाई खेती गर्न सिकाउने
धनगढीः कैलालीको जानकी गाउँपालिकाले किसानलाई उत्पादन बढाए अनुदान दिने र विद्यार्थीलाई कृषि गर्न सिकाउने नीति लिएको छ।
स्कुल पढ्दा नै कृषिप्रतिको अभिरुचि र व्यवहारिक ज्ञान बढाउन विद्यालयको जग्गामा विद्यार्थीद्वारा खेती गर्न लगाइने छ। सामुदायिक विद्यालयहरूसँग पर्याप्त जग्गा हुने भएकाले विद्यार्थीलाई खेतीपाती गर्ने सीप सिकाउन र विद्यालयको आम्दानी बढाउन विद्यालय कृषि कार्यक्रम ल्याइएको हो। यस्तै, पालिकाका किसानले औषत उत्पादकत्वभन्दा भन्दा बढी उत्पादन गरे अनुदान उपलब्ध गराइने छ।
कृषि पेशाप्रति नयाँ पुस्ताको आकर्षण बढाउन ’विद्यालय करेसाबारी कार्यक्रमक’ कार्यक्रम ल्याइएको गाउँपालिकाका अध्यक्ष गणेश चौधरीले बताए। ’विद्यालय कृषि कार्यक्रममा सामुदायिक विद्यालयमा अध्ययन गर्ने विद्यार्थीलाई खेतीपाती गर्न सिकाइने छ,’ उनले भने, ‘विद्यालयको स्वामित्वमा रहेको जग्गामा विद्यार्थीले शिक्षण सिकाईकै अङ्गका रुपमा खेतीपाती गर्नुपर्ने छ।
युवाहरूको कृषिमा आकर्षण बढाउन जरुरी भएकाले विद्यालय करेसाबारी कार्यक्रम ल्याइएको हो।’ युवाहरूले कृषिलाई व्यवसायका रुपमा आत्मसात गरुन् भनेर विद्यालयतहबाटै कृषि गर्न सिकाउन खोजिएको हो। यो वर्ष तीन विद्यालयमा ’विद्यालय करेसाबारी कार्यक्रम’ लागु गरिएको र अर्को वर्षबाट अन्य विद्यालयमा पनि लागु गर्ने तयारी रहेको अध्यक्ष चौधरीले बताए।
‘यो वर्ष तीन विद्यालयमा ’विद्यालय करेसाबारी कार्यक्रम लागु गरेका छौँ,’ उनले भने, सामुदायिक विद्यालयहरूसँग जग्गा छ त्यो जग्गामा कृषि गरेर विद्यार्थीलाई सिकाउने पनि आम्दानी पनि बढाउने गाउँपालिकाको योजना हो।’ जानकी गाउँपालिकामा अधिकांशको मुख्य पेशा कृषि हो। १०७ दशमदव २७ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको यो गाउँपालिका कृषि उत्पादनका लागि महत्वपूर्ण मानिन्छ।
धान र गहुँ उत्पादनसँगै दलहन र तेलहन बालीको राम्रो उत्पादन हुने जानकी गाउँपालिकामा उत्पादन बढाए कृषकलाई अनुदान दिने नीति स्थानीय सरकारले लिएको छ। ‘औषत उत्पादकत्वभन्दा बढी उब्जनी गर्ने किसानलाई यो वर्षबाट प्रति किलोमा ७ रूपैयाँ अनुदान दिने योजना छ। यो वर्ष धानमा अनुदान दिन ढिलो भएको तर गहुँ औषतभन्दा बढी उत्पादन गर्ने किसानलाई अनुदान दिने छौँ,’ अध्यक्ष चौधरीले भने।
साबिक दुर्गौली, जानकीनगर, मुनुवा र पथरैया गाउँविकास समिति मिलेर बनेको जानकी गाउँपालिकामा हाल ९ वडा रहेका छन्। गाउँपालिकामा बसोबास गर्ने करिव ६० प्रतिशत जनसंख्या थारु समुदायको छ भने ८० प्रतिशतभन्दा बढीको मुख्य आयआर्जनको पेशा कृषि रहेको छ। पालिकाले कृषि पेशालाई निर्वाहमुखी मात्रै नबनाएर उत्पादनमुखी बनाउन विद्यालय करेसाबारी कार्यक्रम र उत्पादन बढाए अनुदान दिने नीति लिएको जनाएको छ।