कैलालीका माछा पालक किसानलाई बजारीकरणमा समस्या
धनगढीः कैलाली माछा उत्पादनमा आत्मनिर्भर भएको छ। जिल्लामा ५ हजार किसान माछा पालनमा संलग्न रहेका छन्। ९ लाख बढी जनसंख्या रहेको कैलालीमा माछाको उपभोग र खपत पनि राम्रो छ। तर जिल्लाका माछा पालक किसानले भने उत्पादित माछा बजार हुँदाहुँदै बिक्री गर्न समस्या भोग्नुपर्ने परेको छ।
बजारीकरणको समस्याका कारण कैलालीका माछा उत्पादक किसान समस्यामा छन्। उत्पादनका हिसाबले कैलालीको माग पूरा गर्न सकिने भए पनि बिक्री गर्न समस्या भएको चार वर्षदेखी ६० हेक्टरमा माछा पालन गर्दै आएका किसान डेजी पाण्डेले बताए।
'कैलालीमा माछाको उत्पादन राम्रो छ, बजार पनि छ तर हामीलाई बजारीकरणको समस्या छ,' उनले भने, 'तालबाट माछा झिक्दा एकैपटक झिक्नु पर्छ तर ती सबै माछा एकैपटक बिक्री गर्न समस्या हुन्छ। हामीले न्यून मूल्यमा बिक्री गर्नुपर्ने हुन्छ। उपभोक्ताले बढी मूल्यमा किन्नु पर्छ, कोल्ड स्टोर र फ्रोजनमा राख्ने सुविधा नहुँदा समस्या छ।'
कैलाली जिल्लामा करिव ५ हजार किसान व्यवसायीक माछा पालनमा संलग्न छन्। ३ हजार ४ सय किसानले प्राकृतिक ताल र १ हजार ५ सय किसानले कृत्रिम ताल बनाएर माछा पालन गर्दै आएका छन्। जिल्लामा वार्षिक १२ लाख ७० हजार किलो माछा उत्पादन भइरहेको तथ्याङ्कले देखाएको छ।
तर, कैलालीका किसानले उत्पादन गरेको माछा बजारमा खपत राम्रो हुने गरे पनि तालबाट निकालेर बजारसम्म पुगाउन समस्या हुने गरेको पाण्डेले बताए। 'हाम्रो उत्पादित माछा जिउँदो मात्रै बिक्री गर्न सम्भव छ फ्रोजन गरेर राख्ने सुविधा छैन। बजारमा लैजादै गर्दा कतिपय अवस्थामा माछा मर्ने र बिग्रने समस्या छ,' पाण्डेले भने।
सुदूरपश्चिममा सरकारी एउटा र निजी क्षेत्रका दुई वटा माछा ह्याचरी रहेका छन्। कैलालीमा मात्रै वार्षिक १ करोड ५० लाख भुराको माग रहेको छ। माछाको माग र उपभोग वर्षभरि हुने भए पनि उत्पादन भएको माछा सिजनमा फ्रोजन गरेर राख्न नसक्दा किसानले लागनी अनुसारको प्रतिफल पाउन नसकेको मत्स्य विकास केन्द्र गेटाका प्रमुख सूर्य शाहीले बताए।
'कैलालीमा माछाको उत्पादन राम्रो छ। अहिले सुकुटी र सिध्रा भने भारतबाट आउने गर्छ,“ उनले भने, 'उत्पादित माछा फ्रोजन गरेर राख्न सके यहाँको उत्पादन वर्षभरि उपभोग गर्न सकिन्छ। तर फ्रोजन गरेर राख्ने सुविधा नहुँदा समस्या छ।'
सिजनमा उत्पादन भएको माछा माइनस ४० डिग्रीमा फ्रोजन गरेर राख्न सके त्यो माछा वर्षभरी उपभोग गर्न सकिन्छ। तर, कैलालीका किसानले भने तालबाट माछा झिक्ना साथ सबै माछा बिक्री गर्नुपर्ने बाध्यता छ। जसले गर्दा न्यून मूल्यमा माछा बिक्री गर्नुपर्ने किसानले बताएका छन्।
एकातिर किसानले कम मूल्य पाउँछन् भने अर्कोतिर उपभोक्ताले भने व्यापारीबाट बढी मूल्यमा खरिद गर्नुपर्ने हुन्छ। सिजनमा किसानले मूल्य नपाउने अफ सिजनमा भने माछा भारतवाट आयात गर्नुपर्ने अवस्था रहेको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र कैलालीका प्रमुख डाक्टर हेमराज अवस्थीले बताए।
'कैलालीमा माछाको उत्पादन राम्रो छ। यहाँको वर्षभरिको माग धान्ने हिसाबले माछा र भुरा उत्पादन हुने गरेको छ,' उनले भने, 'अफ सिजनमा भने यहाँ माछा हुन्न त्यसको फाइदा उठाएर भारतबाट माछा आयात गर्ने गरिएको छ। फ्रोजनको सुविधा भए त्यो पनि रोक्न सकिन्थ्यो।'
कैलालीमा उत्पादन भएको माछा फ्रोजन गर्न सके किसानले मूल्य पाउने र उपभोक्ताले स्वदेशी माछा वर्षभरि उपभोग गर्न पाउने अवस्था सिर्जना हुने किसान तथा सरकारी अधिकारीले बताएका छन्। माछा फ्रोजन गरेर राख्ने सुविधा नहुँदा धनगढी भएर मात्रै वार्षिक ४० हजार मेट्रिक टन माछा भारतबाट आयात हुने गरेको कृषि अधिकारीले बताएका छन्।