दार्चुलाका किसानको व्यवसायिक फलफूल खेतीमा बढ्दो आकर्षण
धनगढीः दार्चुलाका किसान व्यवसायिक फलफूल खेतीमा आकर्षित हुन थालेका छन्। हिमाली जिल्ला दार्चुलामा स्याउ र ओखर खेतीको प्रचुर सम्भावना रहेकाले किसानहरू व्यवसायिक फलफूल खेतीमा लाग्न थालेका हुन्।
दार्चुलाको व्याँस तथा अपी हिमाल गाउँपालिकामा व्यवसायिक स्याउ खेती गर्न थालिएको छ। महाकाली नगरपालिका, मालिकार्जुन र मार्मा गाउँपालिकामा ओखर खेतीमा किसानको संलग्नता बढेको छ। यस्तै जिल्लामा सुन्तला, आँप, केरा र लिचीको व्यवसायिक उत्पादन गर्न किसान जुट्न थालेका छन्। जिल्लामा किसानहरूले नयाँ फल किवी र एभोकाडोको खेती पनि गर्न थालेका छन्।
जिल्लाको व्याँस र अपी हिमाल गाउँपालिकामा व्यवसायिक रुपमा गाला र फुजी प्रजातिको स्याउ खेती गर्न थालिएको छ। व्याँस गाउँपालिका वडा नम्बर १ बुँदीमा १ करोड लगानीमा स्याउ खेती सुरु गरेको किसान चरण बुढाथोकीले बताए। ‘हामीले व्यासको बुँदीमा २ सय रोपनी जग्गा लिजमा लिएर स्याउ खेती गर्न थालेका छौँ,’ उनले भने, ‘टर्की र इटालीबाट बोट मगाएर ८ हजार बिरुवा रोपेकोमा ७ हजार हुर्केका छन्, फल्न पनि थालेका छन्।’
कृषक बुढाथोकी र उनका साथीहरूले महाकाली नगरपालिकाको मुल्ला(मैखोलीमा स्याउको नर्सरी स्थापना गरेका छन्। उक्त नर्सरीमा गाला र फुजी प्रजातीको स्याउको बिरुवा उत्पादन थालिएको छ। जिल्लाको अपी हिमाल गाउँपालिकामा पनि स्याउ खेतीमा किसानको संख्या बढेको कृषि ज्ञान केन्द्र दार्चुलाले जनाएको छ। जिल्लामा ओखरको प्रचुर सम्भावना रहेकाले ठुलो संख्यामा किसानहरूले ओखर खेती गर्न सुरु गरेका छन्।
जिल्लामा नयाँ फल किवी र एभोकाडोको खेती पनि सुरु गरिएको छ। मालिकार्जुन गाउँपालिका वडा नम्बर ८ भोरकोटका किसान मोहनदेव मिश्रले ३ सय बिरुवा किवी र १ एक सय बिरुवा एभोकाडो लगाएका छन्। उनले ६ रोपनीमा तीन वर्ष अगाडि किवी र एभोकाडो लगाएका हुन्।
‘मैले सुरुमा सन्तुला खेती गरेको हुँ, तर सुन्तला खेतीमा रोग लाग्यो, अहिले तरकारी खेती पनि गर्दैछु भने नयाँ फल किवी र एभोकाडो लगाएको छु,’ उनले भने, ‘यो वर्ष एक क्वीन्टल एभोकाडो फलेको छ भने किवी पनि राम्रै फलेको छ।’ जिल्लाबाट हुने बसाइसराइको कारण एकै व्यक्तिसँग पर्याप्त जमिन हुने भएकाले जिल्लामा किसानको फलफूल खेतीतर्फ आकर्षण बढेको कृषि ज्ञान केन्द्र दार्चुलाका प्रमुख प्रकाशकुमार पन्तले बताए।
‘बसाइँसराइका कारण जिल्लामा एकै व्यक्तिसँग धेरै जग्गा रहेको अवस्था छ,’ उनले भने, ‘अहिले खाद्यान्नको खेतीपातीभन्दा फलफूल खेती गर्न सबै स्थानीय तहका किसान अग्रसर भएका छन्, यो वर्ष जिल्लामा किवीको उत्पादन धेरै हुने अनुमान गरेका छौँ।’
फलफूल खेतीबाट राम्रो आम्दानी हुने भएकाले व्यवसायिक खेतीमा लागेको किसानहरूले बताएका छन्। कृषि ज्ञान केन्द्र तथा स्थानीय पालिकाबाट आर्थिक र प्राविधिक सहयोग पाइए पनि बजारीकरणमा भने समस्या रहेको किसानहरूको गुनासो छ।