सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिमका किसानलाई फूल र मालाको माग पूरा गर्न भ्याइनभ्याइ

२०७९ कार्तिक ४, ०५:२० नारायण अवस्थी

धनगढीः सुदूरपश्चिमका पुष्प व्यवसायी किसानलाई तिहार नजिकिएसँगै फूल र मालाको माग पूरा गर्न भ्याइनभ्याइ भएको छ। प्रदेशमा फूल र मालाको माग निकै बढी भए पनि उत्पादन कम हुँदा माग पूरा गर्न नसकिएको हो। 

प्रदेशमा फूलको माग दिनहुँ बढीरहेको भए पनि थोरै मात्र किसानले पुष्प खेती गर्ने हुँदा आपूर्तिमा समस्या भएको छ। प्रदेशमा पुष्प खेतीको सम्भावना राम्रो भएकाले  पुष्प खेतीमा युवाहरूको आकर्षण समेत बढ्न थालेको छ। धनगढी–१२ जुगेडाका मनोज बोगटीले गत वर्षबाट पुष्प खेती गर्न थालेको छन्। ‘मैले गत वर्षबाट फूल खेती गर्न थालेको हुँ, गत वर्ष २ कट्ठामा फूल लगाएको थिए, यो वर्ष एक कट्ठामा मात्रै लगाएको छु,’ उनले भने, ‘दैनिक १० किलो फूलको माग आउँछ, तर पुगाउनै मुस्किल हुने गरेको छ।’

तिहार नजिकिएसँगै सुदूरपश्चिमका पुष्प व्यवसायी किसानको व्यस्तता बढेको छ। दसैं र तिहारमा सबैभन्दा बढी फूल बिक्री हुने हुँदा किसानको व्यस्तता बढेको हो। बारीमा सयपत्री र मखमली जताका फूल बिक्री गर्न तयार भएको किसानले बताएका छन्। हरेक दिन उत्पादनभन्दा बढी फूल र मालाको माग आइरहेको पुष्प व्यवसायी किसानहरूले बताएका छन्।

कैलालीको टीकापुर– १ दक्षिणपुरुवा वनगाउँका पुष्प व्यवसायी सीताराम चौधरीले झण्डै एक बिघा जग्गामा पुष्प खेती गरेका छन्। उनले विगत ६ वर्षदेखि पुष्प खेती गर्दै आएका छन्। व्यवसायीक फूल खेती गर्दै आएका चौधरीलाई बर्दिया, दाङ, धनगढी र पहाडी जिल्लाबाट माग आउने गरेको छ।

उनले तिहारका लागि बजारमा पसल राखेर फूलको माला बिक्री गर्ने योजना रहेको सुनाए। ‘यो वर्ष तिहारमा मात्रै ४ लाखको फूल बिक्री गर्ने योजना बनाएको छु। तिहारको लागि फूल तयार भएको छ, यो वर्ष बजारमा पसल थापेर पनि माला बिक्री गर्ने योजना छ। विभिन्न ठाउँबाट माग पनि भइरहेको छ। तर थोरैले मात्रै पुष्प खेती गर्छन्। त्यसैले पुगाउनै समस्या हुन्छ,’ चौधरीले भने।

कञ्चनपुरका जागृत खनाल र उनका साथीहरूले भीमदत्त नगरपालिका वडा नम्बर १० तिल्केनीका  यो वर्षबाट करिब २ बिघामा फूल खेती गरेका छन्। खनालले दसैं, तिहार र आम निर्वाचनलाई लक्षित गरेर पहिलो पटक व्यवसाय थालेको हुन्। कृषि प्राविधिक खनालले पाँच किसिमको सयपत्री लगाएको र दसैंदेखि नै धमाधम फूल बिक्री थालेका हुन्। कृषि ज्ञान केन्द्रका कर्मचारी खनालले अरुलाई पुष्प खेती गर्ने प्रेरणा दिनका लागि जग्गा भाडामा लिएर सामूहिक पुष्प खेती गर्न थालेको बताए। ‘हामीले दुई बिघा जग्गा भाडामा लिएर पुष्प खेती यो वर्षबाट सुरु गरेका हौँ,’ उनले भने, ‘हामीले दसैं, तिहार र चुनावलाई मध्यनजर गरेर  फूल खेतीमा सुरु गरेका हौँ, फूलहरू धमाधम बिक्री भइरहेको छ।’

तिहारमा सबैभन्दा बढी फूल बिक्री हुने गरे पनि यो वर्ष चुनाव पनि परेकाले दोब्बरले फूलको माग बढेको हो। त्यस्तै मंसिरमा विवाहलगायतका धार्मिक अनुष्ठानमा पनि फूलको माग ह्वात्तै बढ्छ। सुदूरपश्चिममा पुष्प खेतीमा थोरै किसान संलग्न हुँदा माग पूरा गर्न धौधौं हुने गरेको छ। यता कृषि क्रान्तिबाट आर्थिक सम्वृद्धि गर्ने लक्ष्य लिएको सुदूरपश्चिम सरकारले भने प्रदेशमा फूलको उत्पादन, उपभोग र खपत बारे कुनै अध्ययन गरेको छैन।
 

नारायण अवस्थी दिनेश खबरका संवाददाता हुन्। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस