सुदूर नेपाललाई विश्वसँग जोड्दै

अलैंचीको घरेलु खपत न्यून भएकामा चिन्ता

२०७९ भदौ ३, ०६:४६ रासस

काठमाडौं: ‘वाह अलैंची’ अभियानका ‘ब्रान्ड एम्बेसडर’ मास्टर सेफ सन्तोष साहले स्वदेशमै उत्पादित बहुउपयोगी अलैंचीको घरेलु उपभोग र बजार प्रवद्र्धन हुन नसकेकामा चिन्ता व्यक्त गरेका छन्। पूर्वी नेपालको पहाडी जिल्ला इलाम, पाँचथर, ताप्लेजुङलगायत दर्जनौँ जिल्लामा अलैंचीको उत्पादन हुँदै आएको छ। खानेकुरालाई स्वस्थ र स्वादिलो बनाउन अलैंचीको विश्वभर व्यापक प्रयोग भइरहे तापनि उद्गमथलो नेपालमै यसको उपभोग न्यून भएको उनले बताए।

विश्वचर्चित ‘बिबिसी मास्टर सेफ प्रतियोगिता’का विजेता साह अलैंचीको घरेलु खपत बढाउने अभियानका क्रममा झापा र इलामका अलैँची कृषक, व्यवसायी र होटलका कुकहरूसँग भेटघाट र अलैंचीखेती अवलोकनका लागि शुक्रबार झापा आइपुगेका हुन्। नेपाल अलैँची व्यवसायी महासङ्घले होटल एसोसिएसन अफ नेपाल, कृषि मन्त्रालय र स्वीस विकास सहयोग (एसडिसी) सँगको सहकार्यमा गत साउनदेखि ‘वाह अलैंची’ अभियान सुरु गरेको छ। मास्टर सेफ साह यो अभियानको ब्रान्ड एम्बेसडर हुन्।

“विदेशमा रहँदा अलैंचीको खुबै प्रयोग हुन्थ्यो, तर मलाई ती अलैँची आफ्नै देशको उत्पादन हो भनेर थाहा थिएन”, जिल्लाका धुलाबारीमा व्यवसायीसँगको भेटघाटमा उनले भने, “जब मैले बिबिसी मास्टर सेफमा भाग लिएँ। त्यहाँ अलैंचीको नाम आयो । अनि मात्र थाहा पाएँ कि अलैँची त हाम्रै देशको उत्पादन पो रहेछ ।” विदेशबाट आयातित वस्तुको उपभोगमा न्यूनीकरण गरेर स्वदेशी अलैंचीको उपभोगका लागि जनचेतना बढाउन आवश्यक रहेको र आफू त्यसैमा लागिरहेको उनले बताए। नेपालमा विदेशबाट आयातित सुकुमेल हरेक खानेकुरामा प्रयोग हुने गरेको र अलैँची उपेक्षामा परेको उनको भनाइ छ।

चिया, खाना, तरकारी, मासु, माछालगायत भान्साका हरेक वस्तुमा अलैंचीको प्रयोग गर्न सकिने हुँदा घरेलु बजार प्रवद्र्धनका लागि वाह अलैँची नामक किताब प्रकाशन गर्ने, अलैँची प्रयोग गरिएको खानेकुरा प्रदर्शनी गर्ने र होटलका कुकसँग अन्तक्र्रिया गर्ने कार्यक्रम अघि बढाएको उनले जानकारी दिए।

पाँच प्रतिशत मात्र घरेलु खपत

नेपालमा उत्पादित अलैंचीको पाँच प्रतिशत मात्र घरेलु बजारमा खपत हुने गरेको र बाँकी सामान भारत निकासी हुँदै आएको नेपाल अलैँची व्यवसायी महासङ्घका कार्यकारी अधिकृत अनिल ढुङ्गानाले बताए। सिधै तेस्रो मुलुकमा निकासीका लागि सकस हुँदा नेपाली व्यवसायीले भारतीय बजारमा अलैँची बेच्न बाध्य भइरहेको जनाउँदै उनले घरेलु बजारको आयतन बढाउन सक्दा कृषक र व्यवसायी दुवै पक्षलाई फाइदा पुग्ने बताए।  

महासङ्घको तथ्याङ्कअनुसार नेपालमा १८ हजार हेक्टरमा अलैंचीखेती हुने गरेको छ। जसअनुसार वार्षिक १३ हजार ४४ मेट्रिकटन उत्पादन हुन्छ। नेपालबाट वार्षिक रु सात अर्ब बराबरको अलैँची निर्यात हुँदै आएको छ। अरबी मुलुकमा मासुमाछामा मसलाका रुपमा अलैंचीको उपभोग हुने गरे तापनि नेपालमा सिलौटामा पिसेर चिया मसलाका रुपमा न्यून प्रयोग हुने गरेको छ। अलैंचीलाई औषधीय गुण भएको मसला मानिन्छ ।

घरेलु उपभोग र बजार प्रवद्र्धनका लागि मास्टर सेफ सन्तोष साहलाई ‘वाह अलैँची’ अभियानका ‘ब्रान्ड एम्बेसडर’ घोषणा गरिएपछि स्वदेशी खपत बढ्ने महासङ्घको अपेक्षा रहेको कार्यकारी अधिकृत ढुङ्गानाले बताए। ‘ब्रान्ड एम्बेसडर’ साहले आजै इलामको रोङ गाउँपालिकास्थित जिर्मलेमा अलैँची खेतीको अवलोकन गर्ने र त्यहाँका कृषकसँग अन्तक्र्रिया गर्ने कार्यक्रम रहेको ढुङ्गानाले जानकारी दिए। अवलोकनमा दातृ संस्था स्वीस विकास सहयोग (एसडिसी) र अलैँची व्यवसायी महासङ्घका प्रतिनिधिसमेत सहभागी हुने बताइएको छ।

कमेन्ट लोड गर्नुस