...र, अमर बन्यो 'कर्णालीका भेल'
धनगढीः एक ताका यस्तो समय थियो, प्राय सुदूरपश्चिमका हरेक घरबाट रोजगारीका लागि भारत जान्थे। रोजगारीकै लागि भारत जाने मध्येमा अधिकांश क्यासेट प्लेयर(टेप) ल्याएर घर फर्किन्थे। त्यतिबेला सुदूरपश्चिमको पहाडी भेगमा रहेका हरेक बस्तीमा घन्किन्थ्यो ‘कर्णालीका भेल।’ जुन गीतका सर्जक थिए, स्वार्गीय हरिशचन्द्र कडायत।
बझाङको छबिसपाथिभेरा गाउँपालिका–२ मुम्लामा जन्मिएका कडायत हाल कैलालीको गौरीगंगा नगरपालिका–६ वनबेहडामा बस्दै आएका थिए। सुदूरपश्चिमको मौलिक संस्कृति देउडाका हस्ती मानिने कडायत बुधबार सधैका लागि अस्ताएका छन्। ५४ वर्षीय हरिशचन्द्रको मस्तिष्क घातका कारण धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा निधन भयो। योसँगै सुदूरपश्चिमले देउडाका एक योद्दा गुमाएको छ।
वरिष्ठ देउडा गायक कडायत परलोक गएपनि उनका सिर्जनाहरु भने जीवित छन्। सुदूरपश्चिमको देउडामा उनले दिएको योगदान अतुलनिय छ। उनलाई नजिकबाट चिन्नेहरुले पनि सुदूरपश्चिमले देउडाको हस्ती गुमाएको भन्दै चिन्ता व्यक्त गरेका छन्। ‘सुदूरपश्चिमको देउडा संस्कृतिलाई जगेर्ना गर्ने सवालमा हरिशको भूमिका अतुलनीय छ,’ देउडा गायक नरेन्द्रराज रेग्मी भन्छन्, ‘सुदूरपश्चिमले मात्रै होइन देशले नै एक गहना गुमाएको छ।’
गायक कडायतले सिर्जना गरेका अधिकांश गीतहरु चर्चित बनेका छन्। देउडा पारखीको मनमा बसेका उनका गीतहरु अमर हुनेमा दुई मत नहोला। स्वरका धनी कडायत शब्द सिर्जनामा पनि पोख्त थिए। उनले क्यासेटकै समयमा ८ देखि १० एल्बम् बजारमा ल्याएका थिए। एक एल्बममा ४ देखि ६ गीतसम्म समावेश हुन्थे। क्यासेटको समय सकिएपछि पनि उनको सांगितीक यात्रामा भने पूर्णविराम लागेन।
जीवनको अन्तिम घडीसम्म कडायत संगितमा नै सक्रिय भए। गायक कडायतका श्रीमती, तीन छोरा र एक छोरी छन्। उनीहरु अहिले कैलालीको वनवेहडामा बस्दै आएका छन्। संगीतमा सक्रिय भएपनि परिवारको खुसी किन्नका लागि उनले वैदेशिक रोजगारीमा जानुपरेको थियो। केही वर्ष विदेशी भूमिमा पसिना बगाएका उनी नेपाल फर्किए पछि पुनः संगीतमै लागे। कडायतले गाउँमा एक होटल पनि सञ्चालन गरेको उनका आफन्त बताउँछन्।
कडायत सुदूरपश्चिम र देउडा एक अर्काका पर्यायवाची शब्द हुन भन्दा फरक नपर्ला। त्यसकारण पनि सुदूरपश्चिमबाट उदायका कलाकारहरु देउडा नगाउने सायदै होलान्। कडायतले पनि देउडाको श्रीवृद्धिमा खेलेको भूमिका स्मरण गर्न लायक छ। देउडा र ठाडी भाकाको क्षेत्रमा सक्रिय कडायतले संसार छोडेपनि सुदूरपश्चिमको मौलिक संस्कृतिलाई माया गर्ने जमातले उनलाई बिर्सन सक्ने छैन।