धनगढीको बेहडाबाबा धाममा चल्दैन इन्टरनेट, पर्यटक र स्थानीयलाई समस्या
धनगढीः बेहडाबाबा मन्दिर कैलालीको धनगढी उपमहानगरपालिका वडा नम्बर १६ मा पर्छ। यस क्षेत्रकै प्रसिद्ध धार्मीक पर्यटकीयस्थलका रुपमा परिचित धाम क्षेत्रमा भने इन्टरनेट नचल्ने समस्या छ। जसका कारण उक्त क्षेत्रमा स्थानीयसँगै उक्त क्षेत्रमा पुग्ने पर्यटकलाई समस्या हुने गरेको छ।
उक्त क्षेत्रमा नमस्ते र एनसेलको नेटवर्कले काम नगर्ने हुँदा स्थानीयसँगै उक्त क्षेत्रमा पुग्ने आन्तरिक तथा बाह्य पर्यटकले हैरानी खेप्नु परेको बेहडाबाबा मन्दिर व्यवस्थापन सेवा समितिका कार्यलय सचिव गोविन्दराज जोशीले बताए। ‘बाहिरबाट आउने पर्यटकले पनि गुनासो गर्ने गरेका छन्,’ उनले भने, ‘हामीले विभिन्न निकायलाई आग्रह गर्दा पनि सुनुवाइ भएको छैन।’
अहिले सामाजिक सञ्जाल प्रयोगकर्ताको संख्या धेरै छ। त्यसमा पनि विभिन्न धार्मीक तथा पर्यटकीय क्षेत्रमा पुगेर टिकटक खिच्नेको भिड हुन्छ। तर बेहडाबाबा क्षेत्रमा इन्टरनेटले काम नगर्ने हुँदा सामाजिक सञ्जालबाट हुने प्रचार पनि हुन सकेको छैन। त्यसकारण पनि उक्त क्षेत्रमा अपेक्षाअनुसार पर्यटक पुग्न नसकेको बताइएको छ। तर पनि मासिक रुपमा ७ हजारभन्दा बढी आन्तरिक तथा बाह्य पर्यटकले बेहडाबाबा अवलोकन गर्ने गरेका छन्।
उनीहरुले पनि सोही समस्या भोग्नु परेको बेहडाबाबा मन्दिर व्यवस्थापन सेवा समितिका सहसचिव रामबहादुर थापाले बताए। ‘इन्टरनेटको त कुरा नगरे पनि हुन्छ। सामान्य फोन गर्न पनि समस्या छ। नेटवर्क आउने गरेको छैन। यो समस्या बुझ्ने निकाय भएन,’ उनले भने।
उक्त क्षेत्रमा देखिएको यो समस्या समाधानको माग गर्दै सरोकारवाला निकायलाई पटकपटक आग्रह गर्दा पनि बेवास्ता भइरहेको छ। यस समस्याको बारेमा धनगढी उपमहानगरपालिका पनि जानकार छ। तर पनि वास्ता गरिएको छैन। स्थानीयले नेपाल टेलिकमको कार्यालयलाई समेत यो समस्या समाधानका लागि आग्रह गरेका थिए। यता नेपाल टेलिकम, धनगढीका कार्यालय प्रमुख सुरत मल्लले पनि उक्त क्षेत्रमा नेटवर्कको समस्या देखिएको बताए। ‘हामीसँग गुनासो पनि आएको हो,’ उनले भने, ‘प्राविधिक टोली पनि उक्त क्षेत्र पुगेको थियो। त्यो समस्या समाधान गर्न प्रयासर भइरहेको छ।’
बेहडाबाबामा मेला लाग्दा सबैभन्दा बढी भारतीय पर्यटक अवलोकन गर्न पुग्ने गरेका छन्। परापूर्वकालमा शिवलिंग आफै उत्पत्ति भएपछि त्यहाँ मन्दिर स्थापना गरिएको हो। मन्दिर परिसरमै महादेव नामको एउटा ठूलो तलाउ पनि रहेको छ। त्यहाँ दर्शन गर्नाले पारिवारिक सुख, सन्तान लाभ, धनप्राप्तिका साथै नयाँ जोडी प्राप्त हुने विश्वास गरिन्छ। यस कारणले पनि त्यहाँ नेपाल र भारतका दूरदराजबाट पर्यटक दर्शनका लागि उल्लेख्य संख्यामा पुग्ने गरेका छन्।