सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा सुरक्षा व्यवस्थापन चुस्त, यसरी खटाइयो म्यादी प्रहरी

२०७९ वैशाख १६, ०७:१० रोशन भट्ट

धनगढीः आसन्न स्थानीय तह चुनावलाई सम्पन्न गर्न कैलाली जिल्लामा सुरक्षा व्यवस्थापन चुस्त बनाइएको छ। एकीकृत जिल्ला सुरक्षा योजनाबमोजिम जिल्लाको भौगोलिक विकटताका साथै सडक सञ्जाल र सञ्चारको असुविधालाई समेत आधार मानेर ठाउँअनुसार निर्वाचन सुरक्षा योजना कार्यान्वयन गर्न लागिएको हो।

यस्तै निर्वाचनलाई लक्षित गर्दै गत चैतमा नै देशभरी म्यादी प्रहरीको भर्ना खोलिएको थियो। जिल्ला प्रहरी कार्यालय कैलालीले पनि २४ सय बढी म्यादी प्रहरीलाई छनोट गरेर तालिम प्रदान गरेको छ। कैलाली प्रहरीले उनीहरुलाई १० दिने तालिम दिएर पास आउटसमेत गरेको छ। जिल्ला प्रहरका कार्यालय मातहत रहेका सबै इलाकाबाट पनि उनीहरुलाई तालिम दिइएको कैलालीका प्रहरी प्रवक्ता वेदप्रकाश जोशीले बताए। ‘म्यादी प्रहरीलाई १० दिनको तालिम दिएर काममा पठाइएको छ,’ उनले भने, ‘अहिले प्रहरीसँगै उनीहरु पनि आउटडोरमा काम गरिरहेका छन्।’

कैलालीका २४ सय बढी म्यादी प्रहरीहरु अहिले तालिम सकेर ड्युटीमा खटिन थालेका छन्। जिल्ला प्रहरी र इलाका प्रहरी मातहत रहेका कार्यालयबाट उनीहरु ड्युटीमा खटिएका छन्। राति घरमै बस्ने गरी महिलालाई ६ देखि ७ बजेको समयमा पठाइन्छ भने पुरुष म्यादी प्रहरीहरु रातिको १० बजेसम्म ड्युटीमा खटिने गरेका छन्। अहिले उनीहरु आउटडोर ड्युटी गरिरहेका छन्। डिएसपी जोशीले भने, 'प्रहरी टोलीसँगै उनीहरु पनि गस्ती गर्ने, साइकल, मोबाइल टोलीसँग पनि उनीहरुले ड्युटी गर्ने गरेका छन्। चेकिङमा खटिने तथा प्रहरीलाई सघाउने काम म्यादीले गरिरहेका छन्।'

निर्वाचन नजिकिसँगै उनीहरुलाई चुनावी कार्यक्रममा पनि खटाइने छ। पार्टीका आमसभा लगायत अन्य कार्यक्रममा पनि उनीहरु सुरक्षाका लागि सहभागि हुनेछन्। निर्वाचनस्थलमा मतदान अधिकृत गएसँगै म्यादी प्रहरीलाई पनि सँगै पठाइने छ। तर निर्वाचनको दिन म्यादी प्रहरीलाई भने सम्बन्धित स्थानीय तहमा ड्युटी नलगाउने प्रावधान बनाइएको प्रवक्ता जोशीले बताए। ‘चुनाव नजिकिएसँगै उनीहरु मतदान केन्द्रमासमेत खटिने छन्,’ उनले भने, ‘तर सम्बन्धित स्थानीय तहमा भने ड्युटी पर्दैन।’

वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि १७ गते उम्मेदवारलाई चुनाव चिह्न प्रदान गरिने छ। २७ गतेबाट मौन अवधी सुरु हुनेछ।

रोशन भट्ट दिनेश खवरका संवाददाता हुन। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस