सुदूर नेपाललाई विश्वसँग जोड्दै

‘धनगढी बनाउने रोडम्याप मसँग छ’

२०७९ वैशाख १५, ०६:२३ रोशन भट्ट

धनगढीः यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको तयारी तीव्र रुपमा भइरहेको छ। धनगढी उपमहानगरपालिमा पनि मेयरका लागि १० जनाले उम्मेदवारी दिएका छन्।  स्वतन्त्रसँगै विभिन्न दलमा आवद्ध नेताहरुले आफ्नो उम्मेदवारी दर्ता गरेका हुन्। 

धनगढीका लागि १० जना उम्मेदवार मध्ये जनता समाजवादीका नेता कविन्द्र ऐर पनि एक हुन्। उनले पनि धनगढीको मेयर बन्नका लागि मुख्य निर्वाचन अधिकृतको कार्यालयमा आफ्नो उम्मेदवारी दर्ता गरेका छन्। अहिले उनी मत माग्न धनगढीमा घरदैलौ कार्यक्रम  सञ्चालन गरिरहेका छन्। २०४२ सालमा जन्मिएका कविन्द्रको परिवार २०१५ सालदेखि धनगढीको वडा नम्बर ३ मित्रनगरमा बस्दै आएको छ। विद्यार्थीकालदेखि राजनीतिमा सक्रिय रहेका ऐर गणतन्त्र स्थापनाका लागि भएको आन्दोलनका पनि सांक्षी हुन्। धनगढीको मुहार फेर्न आफ्नो चुनावी एजेण्डासहित मैदानमा उत्रिएको उनी बताउँछन्। ‘धनगढी बनाउने स्पष्ट रोडम्यापसहित चुनावमा होकिएको छु,’ उनले भने, ‘धनगढीवासीले विश्वास गर्ने अपेक्षा छ।’

धनगढीवासीले आफूलाई मेयरमा निर्वाचित गरे पार्टीभन्दा माथि उठेर काम गर्ने घोषणा ऐरले गरेका छन्। उनले धनगढी बनाउने रोडम्यापलाई ६ बुँदामा उल्लेख गरेर मत मागिरहेको बताए। जसमा सहरीकरण र व्यवस्थित बसोबास, पर्यटन र उद्योग, कृषिमा क्रान्ति, बेरोजगार युवाको व्यवस्थापन, शिक्षा र स्वास्थ्य रहेका छन्। 

यस्तो छ, जसपाका नेता कविन्द्रको धनगढी बनाउने रोडम्याप 
सहरीकरणः
धनगढी सहरलाई एक नमूना सहरका रुपमा स्थापित गर्ने योजना कविन्द्रको छ। जसमा अहिले निर्माण भएका संरचनालाईसमेत व्यवस्थापन गर्ने, मापदण्ड अनुसार नयाँ संरचना निर्माण  गर्ने  योजना उनको चुनावी एजेण्डा हो। अस्तव्यस्त बसोबासलाई व्यवस्थित गर्ने सोच उनको छ। खानेपानी बिजुली लगायतको समस्या पनि धनगढीमा अझै छ।

त्यसमा पनि विशेष ध्यान दिने दाबी उनले गरेका छन्। धनगढीको मुख्य समस्या डुबानलाई समाधान गर्नका लागि पनि आफुले नयाँ योजना लागू गर्ने कविन्द्रले बताए। २०६६/६७ सालमा जनता समाजवादीका नेता गोविन्द्र राना धनगढी नगर विकासको अध्यक्ष भएको समय स्मरण गर्दै उनले भने, ‘त्यो बेला धनगढीका नालाको चौडाइ एक सय फिट कायम गर्न र ५ धुर भन्दा कमको कित्ताकाट गर्न नदिने निर्णय गर्नुपर्ने भन्दै नगरपालिकालाई सिफारिस गरिएको थियो। त्यो बेला हाम्रो पार्टीले भनेको नमानेकै कारण अहिले धनगढीमा डुबानको समस्या विकराल बन्दै गएको छ। म मेयरमा निर्वाचित भएपछि यो जालो तोड्छु।’

पर्यटन र उद्योगः
धनगढी उपमहानगरपालिका पर्यटनको क्षेत्रबाट पनि फड्को मार्नसक्छ भन्ने धारणा धेरैको छ। प्रदेशको एक मात्रै उमहानगरपालिका सँगै प्रमुख व्यापारिक केन्द्र भएका कारण पनि धनगढीमा पर्यटनको सम्भावना बढी छ। जसपाबाट धनगढीको मेयरका लागि उम्मेदवार बनेका कविन्द्रले पर्यटनको क्षेत्रबाटै धनगढीको विकास गर्न सकिने योजना मतदाता समक्ष राखेका छन्। जसमा धनगढीका नाला किनारलाई टुरिष्ट स्पट बनाउने, चिडियाखाना खोल्ने, पार्क स्थापना गर्ने र रिसोर्टहरु सञ्चालनमा ल्याउने उनको योजना छ।

यसरी पनि पर्यटक भित्र्याउन सकिने बुझाई उनको छ। उनले उद्योगको क्षेत्रमा पनि नौलो योजना अघि सारेका छन्। धनगढी बजारलाई प्रदूषण मुक्त बनाउनका लागि नौलो योजना अघि सारेका हुन्। जसमा बजारभित्र रहेका उद्योगलाई कुनै निश्चित स्थानमा सारेर औद्योगिक क्षेत्रका रुपमा विकास गर्ने दाबी ऐरको छ।

कृषिमा क्रान्तिः 
अहिलेसम्म भएका निर्वाचनको एजेण्डा हेर्ने हो भने पनि कृषि क्रान्ति गर्ने विषय सबैको घोषणा पत्रमा भेटिन्छ। तर कसैको शासनकालमा पनि कृषिमा क्रान्ति भएको भेटिदैन। ‘किसानले सिँचाइ गर्नका लागि आवश्यक पानी नपाउने, समयमा प्रयाप्त मल नपाइने, बीउ नपाइने, उत्पादित बस्तुको बजारीकरण गर्न समस्या लगायत तमाम विषय छन्। कृषिमा  जुन अहिलेसम्म पनि सुधार हुन सकेका छैन’ कविन्द्रले भने। उनले  वडा–वडामा कोल्ड स्टोर निर्माण गर्ने, उन्नत जातको बीउ भण्डारण गर्ने, आधुनिक औजार प्रयोगमा ल्याउने, किसानले मलको अभाव झेल्नु पर्ने बाध्यताको अन्त्य गर्ने घोषणा गरेका छन्।  

बेरोजगार युवाको व्यवस्थापनः
अहिलेका राजनीतिक दल तथा निर्वाचित जनप्रतिनिधिलाई चुनौतीको विषय बनेको छ, रोजगारी सिर्जना। देशमा रोजगारीकै अवसर नभएको भन्दै लाखौ युवाहरु विदेशमा आफ्नो पसिना बगाउन बाध्य छन्। तर मेयरका उम्मेदवार कविन्द्र ऐरले भने बेरोजगार युवाको व्यवस्थापनमा पनि विशेष पहल गर्ने जनाएका छन्। रोजगारी सिर्जना गर्नका लागि धनगढीका वडा–वडामा ट्रेनिङ सेन्टर खोल्ने योजना उनको छ। विभिन्न सिप सिकाउने, प्रत्येक वडामा माछा पालनका लागि तालिम प्रदान गर्ने, कम्प्युटर तालिम उपलब्ध गराउने भनिएको छ। फरक–फरक वडामा फरक किसिमको सिप सिकाउने र युवाको व्यवस्थापन गर्ने योजना रहेको उनले बताए।

 शिक्षाः 
जननिर्वाचित प्रतिनिधिको एक कार्यकाल सकिँदा पनि शिक्षामा भने खासै सुधार नभएको भनाइको धेरैको छ। सरकारी र सामुदायिक विद्यालयबीचको खाडल अझै गहिरिँदै गएको भनाइ शिक्षा क्षेत्रमै काम गर्नेहरुको छ। तर शिक्षा क्षेत्रमासमेत सुधार गर्ने योजनासहित चुनावमा उत्रिएका छन्, धनगढीका कविन्द्र। उनले शिक्षामा जनशक्तिको प्रयोग गर्ने, खराबलाई शुद्धिकरण गर्ने, सामुदायिक विद्यालयललाई एक लयमा ल्याउने जनाएका छन्। दिल्लीमा केजरीवालले सरकारी विद्यालयको अवस्था सुधार गरे जस्तै धनगढीमा पनि सुधार गर्ने योजना उनको छ। योसँगै सरकारी र सामुदायिक विद्यालयबीचको खाडल पुर्न सकिने विश्वास गरिएको छ। 

स्वास्थ्यः 
धनगढीमा स्वास्थ्य उपचारको पनि धेरै समस्या छ। सरकारी अस्पतालको सेवा सुधार हुन नुसक्दा नीजि मेडिकलमा चर्को शुल्क तिरेर उपचार गर्नुपर्ने बाध्यता धनगढीवासीको छ। त्यसकारण पनि धनगढीको स्वास्थ्य अवस्थालाई सुधार गर्नका लागि आफुले विभिन्न योजना लागू गर्ने ऐरले बताएका छन्। प्रत्येक वडामा स्वास्थ्य सचेतना कार्यक्रमसँगै स्वास्थ्य बिमाको पनि व्यवस्था गरिने उनले बताए। ऐरको योजनामै स्वास्थ्यको सवलमा ‘हटलाईन’ सेवा दिने पनि उल्लेख छ। अर्थात, विरामीको स्वास्थ्य परीक्षणका लागि डाक्टरसहित घरमै जाने नियम लागूगर्ने बताइएको छ। 

योसँगै उनले धनगढी सहर २४ घण्टा नै सञ्चालन गर्ने योजना अघि सारेका छन्। सुरक्षाको अवस्थालाई आकलन गरेर धनगढीलाई २४ घण्टा नै सञ्चालनमा ल्याउने उनले बताए। यसपटक धनगढीवासीले विश्वास गर्ने अपेक्षा गरेको उनले बताए। ‘धनगढी बनाउने रोडम्याप मसँग छ,’ उनले भने, ‘त्यसकारण पनि धनगढीवासीले मेयरमा निर्वाचित गर्छन् भन्नेमा ढुक्क छु।’
 

रोशन भट्ट दिनेश खवरका संवाददाता हुन। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस