सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा संघीय सरकारले निर्माण गरेको आयुर्वेद अस्पताल कहिले होला सञ्चालन ?

२०७८ फाल्गुन १७, १०:२८ रोशन भट्ट

धनगढीः धनगढीमा संघीय सरकारले निर्माण सुरु गरेको प्रादेशिक आयुर्वेद अस्पतालको भवन तयार भएको छ। उपमहानगरपालिकाको वडा नम्बर १३ मा उक्त आयुर्वेद अस्पतालको भवन आर्थिक वर्ष २०७४/७५ देखि निर्माण सुरु भएको थियो। 

संघीय सरकारको १६ करोड ३६ लाख बजेटमा निर्माण सुरु भएको अस्पताल भवनको काम अन्तिम चरणमा पुगेको छ। ५० शय्याको प्रादेशिक आयुर्वेद अस्पतालको निर्माण कार्य यहि फागुनमा सम्पन्न गर्ने दाबी गरिएको छ। धनगढी उपमहानगरपालिका वडा नम्बर १३ राजपुरमा निर्माण सम्पन्न हुन लागेको अस्पताललाई यहि महिना प्रदेश सरकारलाई हस्तान्तरण गर्ने तयारी भइरहेको सहरी विकास तथा भवन निर्माण विभाग संघीय आयोजना कार्यान्वयन इकाई धनगढीका सूचना अधिकारी द्रोण कटुवालले बताए। ‘संरचना निर्माणको काम सकिएको छ। फागुनभित्रै सबै काम सम्पन्न गरेर हस्तान्तरण हुन्छ’ उनले भने।

आयोजना कार्यालयले भने भौतिक संरचना निर्माणको काम ९८ प्रतिशत सकिएको जनाएको छ। अस्पताल भवन निर्माणसँगै विद्युत, खानेपानी, गेट, पर्खाल लगायतको काम सकिएको बताइएको छ। तर कोठाभित्र लगाइने टायल लगायतको काम गर्न बाँकी छ। टायल देश बाहिरबाट ल्याउनेपर्ने भएका कारण समय लागेको भनिएको छ। तर यहि साता उक्त टायल धनगढी पुगेपछि अस्पताल भवन निर्माणको काम पूर्ण रुपमा सम्पन्न हुने दाबी आयोजना कार्यालयको छ। 

आयुर्वेद अस्पतालमा विशेषज्ञ चिकित्सकसहित चिकित्सक, वैद्य, स्टाफ नर्स, एएनएम तथा ल्याबका कर्मचारी कार्यरत रहने भनिएको छ। अस्पताल भवन निर्माणको काम सम्पन्न हुँदै लाग्दा पनि उपकरण खरिदको प्रक्रिया भने सुरु भएको छैन। एक्सरे मेशिन, ल्याबका सामग्री तथा अन्य आयुर्वेदिक अस्पतालका लागि आवश्यक उपकरणसमेत खरिद गर्नुपर्ने छ। कर्मचारीको दरबन्दी पनि स्वीकृत गर्नुपर्ने प्रादेशिक आयुर्वेद चिकित्सालयका निमिक्त प्रमुख डाक्टर खगेन्द्र बमले बताए। ‘हामी अहिले यसमै लागेको छांै। काम भइरहेको छ। अस्पताल हस्तान्तरण भए सेवा पनि सुरु हुन्छ,’ उनले भने। 
 

रोशन भट्ट दिनेश खवरका संवाददाता हुन। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस