आलुको उत्पादन घट्ने
चितवन: जिल्लामा यस वर्ष आलुको उत्पादन घट्ने भएको छ। बेमौसममा परेको पानीका कारण आलु उत्पादनमा कमी आउने कृषि ज्ञानकेन्द्र भरतपुरले जनाएको छ। कार्यालयका सूचना अधिकारी मीनबहादुर पुनले जिल्लामा यस वर्ष आलु उत्पादन घट्ने बताए। उनका अनुसार जिल्लाको एक हजार ९५९ हेक्टर क्षेत्रफलमा आलु लगाइएको छ। जसमा ३५ हजार ७३२ दशमलव १६ मेट्रिक टन आलु उत्पादन हुने अनुमान कार्यालयको रहेको छ। गत वर्ष सोही क्षेत्रफलमा ३७ हजार ६१३ मेट्रिक टन आलु उत्पादन भएको थियो।
गत वर्ष १९ दशमलव दुई मेट्रिक टन प्रतिहेक्टर उत्पादकत्व रहेकोमा यस वर्ष उत्पादकत्व घटेर १८ दशमलव २४ मेट्रिक टनमा आउने अनुमान गरिएको उनले जानकारी दिए। आलुमा पछौटे डडुवा रोगसमेत रहेकाले उत्पादनमा कमी आउने देखिएको हो। उनले भने, “आलु थन्क्याउने समयमा चिसो बढेसँगै पानी परेर आलु उत्पादनमा समस्या आयो।” जिल्लामा विशेषगरी आलु खेती पूर्वी चितवन, भरतपुर महानगरपालिका र माडी क्षेत्रमा बढी हुने गरेको छ। आलु थन्क्याउने समयमा पानी परेसँगै बारीमा रहेको आलुमा कुहिने समस्या देखिने उनले जानकारी दिए।