कैलालीका नदीमा जनप्रतिनिधिको गिद्दे नजर, ४० लाख अनियमितता
धनगढीः कैलालीको गौरीगंगा नगरपालिकामा ५ वटा नदी छन्। सोही कारण नदीजन्य पदार्थबाट बढी राजस्व संकलन गर्ने स्थानीय तहमा गौरीगंगा पर्ने गरेको छ। स्थानीय तहमा जनप्रतिनिधि आएपछि सुरुवाती चरणमा टेण्डरमार्फत उत्खनन् गराएपनि पछिल्लो वर्षमा भने स्थानीय युवाहरुलाई उक्त जिम्मा दिइएको थियो। तिनै युवाहरुले मनोमानी रुपमा नदीजन्य पदार्थ उत्खनन् गरेर लाखौं राजस्व अनियमितता गरेको आरोप लागेको छ।
नगरपालिकाका राजनीतिक दलले उक्त विषयको विरोध गरेको थियो। त्यसपछि गठन भएको छानबिन समितिले पनि नदीजन्य पदार्थ उत्खनन गर्दा अनियमितता भएको ठहर गरेको छ। समितिका संयोजक भक्तबाहादुर विश्वकर्मा भन्छन्, ‘हामीले एक–एक घटना अध्ययन गरेका छौं। समग्र रुपमा अनियमितता भएको देखिएको छ। निकटका युवालाई जिम्मेवारी दिँदा यो अवस्था आएको हो।’
नगर कार्यपालिकाले नै कार्यपालिका सदस्य विश्वकर्मालाई संयोजक बनाएर वडा अध्यक्ष तथा कानून अधिकृतलाई समेत उक्त छानबिन समितिमा राखेको थियो। सोही समितिले छानबिन गरेर प्रतिवेदन बुझाएको छ। प्रतिवेदनअनुसार जनप्रतिनिधिले आफू निकटका व्यक्तिलाई उक्त जिम्मा दिएको देखिएको छ। हचुवाको भरमा स्थानीय युवालाई नगदी रसिद काट्ने ठेली दिएको पुष्टि भएको प्रतिवेदनमा उल्लेख छ। उक्त ठेलीहरुमा पनि अहिलेसम्म ३२ ठेली गायब पारिएको छ। एक ठेलीबाट संकलन रकम पारदर्शी रुपमा नदेखाएर १६ हजार मात्रै बुझाएको देखिएको छ।
उक्त प्रतिवेदनलाई हेर्दा नदीजन्य पदार्थबाट सोझै ४० लाखभन्दा बढी अनियमितता भएको छानबिन समितिका संयोजक विश्वकर्माले बताए। ‘४० लाख राजस्व संकलन भएको छैन,’ उनले भने, ‘सात दिनभित्रै असुल गर्न निर्देशन दिँदा पनि बेवास्ता भइरहेको छ।’
नगरपालिकाले नै दिएको तथ्यांक तथा नगदी ठेलीअनुसार मात्रै ९५ लाख ८१ हजार राजस्व संकलन हुनुपर्ने हो। तर हालसम्म नगरपालिकामा ६३ लाख ८१ हजार मात्रै राजस्व दाखिला भएको छ। बाँकी रकम स्थानीय युवासँगै केही जनप्रतिनिधिले पनि बाँडेको आरोप छानबिन समितिको छ। नगदी रसिदका ३२ ठेली र स्टक नदीजन्य पदार्थ हेर्दा पनि ४० लाखभन्दा बढी अनियमित भएको देखिएको छ।
अहिले नगरपालिकामा बुझाइएको ठेलीमा पनि आधिकारिक छाप समेत नभेटिएकाले झन आशंका बढेको छ। तर नगरपालिकाका मेयर भीमबहादुर देउवाले भने राजस्व संकलन हुन बाँकी रहेको बताएका छन्। ‘राजस्व संकलन भएको छैन। बुझाउन बाँकी रहेकालाई ताकेता गर्दैछौं’, उनले भने।