सुदूर नेपाललाई विश्वसँग जोड्दै

‘एक घर पाँच बाली’ कार्यक्रमका नाममा बर्सेनि लाखौं खर्च, किसानकाे छैन करेसाबारी

२०७८ माघ १७, ०६:१४ कमल सावद

धनगढीः कैलालीको गोदावरी नगरपालिका वडा नम्बर ११ चुरे फेदीको वडा हो। ओलानी नामले परिचित उक्त वडाको केही भागमा सिँचाईको सुविधा छ। केही भागमा खानेपानीको समस्या पनि छ। तर वडा कार्यालयले प्रत्येक वर्ष झण्डै २ लाख रुपैयाँ ‘एक घर पाँच बाली’ कार्यक्रममा खर्च गर्दै आएको छ। वडाका ९ सय ६३ परिवारले पाँच बालीको बिउ वडा कार्यालयबाट पाउँदै आएका हुन्। 

गोदावरी नगरपालिका वडा नम्बर ११ का वडाध्यक्ष शिवबहादुर विकले वडाका नागरिकलाई बीउ वितरण गर्दै आएको बताए। उनले भने, ‘हामीले सधै बिउ वितरण गर्दै आएका छौं। किसानले माघको अन्तिम वा फागुनतिर लगाउलान्। हामीले घर–घरमा बिउ पठाएका छौं।’

‘एक घर पाँच बाली’ कार्यक्रममा वडाले बेमौसमी मुला, खुसार्नी, लौकी, बोडी र भान्टाको बिउ वितरण गर्ने गरेको छ। वडा कार्यालयले बिउमा वार्षिक २ लाख खर्च गर्दै आएको भएपनि किसानले उत्पादन भने बिक्री गरेका छैनन्। उनीहरुले आफ्नै घर–परिवारका लागि आवश्यक तरकारी पनि उत्पादन गर्न सकेको छैनन्। उनीहरुले भारत तथा अन्य क्षेत्रमा उत्पादन भएका तरकारी १३ किलोमिटर टाढा रहेको उत्तरियाबाट खरिद गरेर खाने गरेका छन्। स्थानीय वाली साउँद गाउँका किसानले बिउ नपाएको बताउँछन्। 

ओलानीमा सिँचाईको सुविधा भएपनि किसान तरकारी लगाउँदैनन्। सोही कारणले पनि वडा कार्यालयले तरकारीको बिउ वितरणको कार्यक्रम ल्याएको हो। तरकारीको वडामा हाहाकार हुने भएकाले एक घर पाँच बाली कार्यक्रम सञ्चालन गरिएको कार्यालयले बताएको छ। वडा कार्यालयले किसानलाई निःशुल्क बिउ उपलब्ध गराउँदा समेत कतिपय किसानले बारीमा बिउ छरेका छैनन्। वडाध्यक्ष भने, ‘केहीले नलगाएका होलान्। तर परिवारका लागि खान भएकाले सबैले लगाउने गरेका छन्। आफू खानका लागि भएपनि लगाउँछन्।’

आर्थिक वर्ष २०७५/०७६ को कार्यक्रमबाट एक घर पाँच बाली कार्यक्रम सञ्चान गर्ने नीति ल्याइएको थियो। करेसाबारी नभएका परिवारलाई वडा कार्यालयबाट दिने सेवा समेत बन्द गरिने बताइएको छ। वडाका नागरिकले बजारको तरकारी खरिद गर्न नपरोस भन्दै उक्त कार्यक्रम ल्याइएको वडा कार्यालयले बताएको छ। 
 

कमल सावद, दिनेश खबरका संवाददाता हुन्। उनी अर्थतन्त्र,पुर्वाधार र विकासमा केन्द्रित कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस