बैतडी युवक हत्या प्रकरणः मृतक डम्बरको डायरीले खोल्ला त रहस्य ?
धनगढी: बैतडीको सुर्नया गाउँपालिका–६ ३० वर्षीय डम्बर अवस्थीको हत्या आरोपमा प्रहरीले हालसम्म २ जनालाई गिरफ्तार गरिसकेको छ। गत मंसिर १४ गतेबाट हराएका डम्मरको शव गत बुधबार स्थानीय धुरा जंगलको गुफामा गाडेको अवस्थामा फेला परेको थियो। जंगलमा १५ फिट गहिरो गुफामा डम्मरको शव गाडेको अवस्थामा फेला परेको थियो।
उनकोे हत्या गरेको भनेर सुरुमा सोही ठाउँका हरिश अवस्थीले स्वीकार गरेका थिए। गत पुस २३ गते आफू अपहरणमा परेको भन्दै नाटक गरेका ती २३ वर्षीय हरिशले दिएकै लोकेसनको आधारमा प्रहरी शव खोज्न सफल भएको थियो। सुरुमा उनले हत्यामा संलग्न अन्यको नाम नखुलाए पनि पछि सोही ठाउँका नवराज अवस्थीले पनि आफूलाई सहयोग गरेको बताएका थिए। सोही आधारमा गत आइतबार माघ २ गते नवराजले पनि सोधपुछका क्रममा आफू हत्यामा संलग्न भएको बताएका थिए। तत्पश्चात अदालतबाट म्याद थपेर दुवैमाथि बैतडी प्रहरीले अनुसन्धान जारी राखेको छ।
डम्बरको डायरीमा के छ ?
हत्यामा संलग्न भएको आरोपमा २ जना पक्राउ परिसकेता पनि उक्त घटनाको गुथ्थी सुल्झिएको छैन। मृतक डम्बरका आफन्तले हत्यामा अन्यको पनि संलग्ना रहेको दाबी गरिरहेका छन्। डम्बरको शव पोष्टमार्टम भइसकेता पनि आफन्तले शव बुझेका छैनन्। उनीहरुले हत्यामा संलग्न सबैलाई पक्राउ गर्नुपर्ने अडान राखेका छन्।
मृतकका दाई तिर्थराज अवस्थीका अनुसार डम्बरले आफ्नो डायरीमा ५ जनाको मोबाइल नम्बर लेखेका छन्। उनले मृत्यु हुनुपूर्व उल्लेख गरेका ती मोबाइल नम्बर मध्ये २ नम्बर हत्या आरोपमा पक्राउ परेका हरिश र नवराजको हो। उक्त डायरीको पानाको माथितिर लेखिएको छ, ‘तिम्रो सामानको खर्च कति भाछ। म त्यो सबै तिर्छु। त्यो खर्चको विवरण मलाई पठाउ म त्यो तिर्छु।’ त्यसकै मुनि ३ जनाको नाम र मोबाइल नम्बर उल्लेख छ। सोही पानामा अन्य २ फोन नम्बर समेत डम्बरले लेखेका छन्।
उक्त विषयमा मृतकका दाई तिर्थराज भन्छन्, ‘धेरै पहिले मेरो भाई(डम्बर) र हरिशको बहिनीको फोनमा कुराकानी हुन्थ्यो। त्यो कुरा हरिशको परिवारलाई मन परेको थिएन। हरिशको बहिनीको बिहे पक्का भएको थियो तर अन्तिममा हुन सकेन। सोही बिहे रद्द भएको विषयमा हरिशको परिवारले भाइलाई धम्क्याउने गरेका थिए। उनका अनुसार डम्बरले हरिशकी बहिनीको बिहे तयारीमा लागेको खर्च तिर्ने कुरा उक्त डायरीका उल्लेख गरेका छन्।
‘सोही बिहे बिगारेको भन्दै उनीहरुले भाईलाई धम्की दिने गरेका थिए। मंसिर १४ गते साँझ पनि करिब ७ बजेतिर डम्बरको मोबाइलमा हरिशको फोन आएको छ’ तिर्थराज भन्छन्, ‘अहिले २ जना पक्राउ परेका छन्। तर १ जना जसको मोबाइल नम्बर डायरीमा लेखिएको छ र अर्को एक जनामाथि पनि हामीलाई शंका छ। उनीहरुमाथि शव भेटिनु अगावै हामीलाई शंका थियो।’
तिर्थराजका अनुसार हरिशले अपहरणको नाटक गर्नुअघि उनीसहित ती ४ जना घरमा आएका थिए। आफूहरुले हत्या नगरेकाले शंका नगर्न अनुरोध उनीहरुले गरेको तिर्थराज बताउँछन्। डम्बर विप्लव निकट माओवादीका कार्यकर्ता हुन् भने हत्यामा संलग्न भनिएका २ जना कांग्रेस कार्यकर्ता हुन्। सोही कारण तिर्थराजले हत्यामा संलग्न अन्य २ जनालाई राजनीतिक संरक्षण मिलिरहेको आरोप लगाएका छन्। ‘हामीले डायरी प्रहरीलाई बुझाइसकेका छौं तर उनीहरुलाई बचाउनका लागि बैतडी काँग्रेस लागेको छ। त्यसैले अरुलाई पक्राउ गरिएको छैन’ उनले भने।
यस विषयमा जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक बोधराज ओझाले थप अनुसन्धान गरिरहेको बताएका छन्। ‘आरोप लगाउनेहरुले विभिन्न कुरा गर्छन्। हत्यामा अन्यको संलग्नता छ भन्ने प्रहरीलाई पनि शंका छ। तर प्रमाण र तथ्यको आधारमा मात्रै थप भन्न सकिन्छ। हामीले अनुसन्धान गर्दैछौं’ उनले भने।
सम्बन्धित समाचार:
बैतडीमा युवक हत्या प्रकरणः अर्का आरोपितद्वारा पनि हत्या गरेको स्वीकार
बैतडीमा युवक हत्या प्रकरणः थप एक जना प्रहरी नियन्त्रणमा
बैतडीमा युवक हत्या प्रकरणः शव अस्पतालमै, क्षतिपूर्ति माग
बैतडीमा हत्या लुकाउन अपहरणको नाटक, फेसबुक स्टाटसले गरिदियो शिक्षकको भण्डाफोर
बैतडीमा प्रहरीले जंगलबाट निकाल्यो शव, हत्या गरेर गाडेको आशंका