के हो डोटीमा मनाइने ‘चेली स्वतन्त्रता पर्व’ ?
धनगढी: सुदूरपश्चिमलाई धेरैले बालविवाह हुने र छाउपडी कुप्रथा मान्ने चलन रहेको प्रदेश भनेर चिन्छन्। यहाँको भौगोलिक अवस्था र संघीय राजधानीबाट टाढा भएकाले पनि प्रदेशलाई दुर्गम भनिन्छ। विशेषगरी अशिक्षा र गरिबीका कारण सुदूरपश्चिममा महिलालाई दाेस्रो दर्जाको रुपमा हेरिने भनेर अधिकारकर्मीहरुले बताउने गरेका छन्। विभिन्न रीतिरिवाज तथा प्रचलनका कारण महिलामाथि हिंसा भइरहेको भन्दै बेलाबेला विभिन्न आवाज समेत उठ्ने गरेका छन्।
तर प्रदेशकै डोटीमा एउटा यस्तो गाउँ छ जहाँ एकदिन भएपछि किशोरीहरुलाई स्वतन्त्रता प्रदान गरिन्छ। जिल्लाको आर्दश गाउँपालिका–२ बाहुनकाँडामा माघमा चेली स्वतन्त्रता पर्व अर्थात छोरी हाँसेको दिन मनाउने प्रचलन रहेको छ। माघ ३ गते उत्तरायणीका दिन उक्त पर्व मनाउने गरेको बाहुनकाँडाका स्थानीय सुरज ओझाले बताए। ‘यो पहिलेदेखि चलिआएको पर्व हो। त्यस दिन टोलटोलमा किशोरीहरु जम्मा भएर रमाइलो गर्छन्। त्यो दिन उनीहरुलाई कुनै पनि घरायसी काम लगाइन्न’ उनले भने।
उक्त दिन अविवाहित छोरीहरुलाई कुनै काम लगाइन्न। उनीहरुलाई स्वतन्त्र छाडिदिने हुँदा त्यस दिनलाई चेली स्वतन्त्रता पर्व भनिएको वडाअध्यक्ष रामबहादुर बोहराले बताए। ‘पर्वको बेला चेलीहरु निष्फिक्री रुपमा डेउडा खेल्ने र बेहुलाबेहुली बनेर मनोरञ्जन गर्ने गर्छन्। अनि पछि वनभोज जान्छन्। वनभोजमा खाना पकाउने, खेल्ने र रमाइलो गर्छन्’ उनले भने। छोरी हाँसेको पर्वमा किशोरीहरुलाई कसैले एक सिन्को समेत भाँच्न नलगाउने गरेको उनले बताए।
तर सोही गाउँका केही भने उक्त प्रचलनको बारेमा फरक मत राख्छन्। चेली स्वतन्त्रता पर्वले विकृति ल्याएको उनीहरु बताउँछन्। ‘स–सना बालिकाहरु बेहुलाबेहुली बनेर घुम्छन्। त्यसले उनीहरुको मानसिक अवस्थामा असर गरिरहेको छ। सानैमा बिहेबारे थाहा पाएर २० वर्षअघि बिहे गर्दा पनि हुन्छ भन्ने लाग्नसक्छ’ सोही ठाउँका कुलप्रसाद ओझाले भने। उनका अनुुसार यो प्रचलन गाउँका भित्रिएको केही वर्ष मात्रै भएको छ।