सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढी विमानस्थल वरपरका स्थानीय आन्दोलनको तयारी गर्दै

स्थानीयले पुस ५ गते गरेको आन्दोलन
स्थानीयले पुस ५ गते गरेको आन्दोलन
२०७८ पुष १०, ०५:४१ रोशन भट्ट

धनगढीः धनगढी विमानस्थलको स्तरवृद्धि गर्न भौतिक संरचना निर्माणका लागि स्थानीयको जग्गा अधिग्रहण गर्नु स्वभाविक हो। स्थानीयलाई जग्गा ऐन अनुसार कानूनी प्रक्रिया पूरा गर्दै उचित व्यवस्थापनसहित मुआब्जा दिनु सरकारको कर्तव्य पनि हो। यसरी जग्गा अधिग्रहण गर्नुपर्ने अवस्थामा स्थानीयले विरोध नगरेको उदाहरण सायदै भेटिन्छन् होला। तर धनगढीमा भने विमानस्थल विस्तारका लागि आवश्यक जमिन छुट्याउन स्थानीयले माग गर्दै आएका छन्। 

विमानस्थल क्षेत्रका नागरिक सरकारलाई आवश्यक पर्ने जग्गा उपलब्ध गराउन तयार रहेका छन्। तर सरकारले जग्गा अधिग्रहणको कुनै निर्णय नगरेकाले स्थानीयले आशंका गरिरहेका छन्। यस क्षेत्रमा स्थानीयको दैनिकी बेचैनमा बितिरहेको धनगढी उपमहानगरपालिका वडा नम्बर १३ का स्थानीय लालबहादुर महराले बताए। ‘हामीले सबै निकायलाई यो समस्याको समाधानको माग गरेका छौं। हाम्रो आन्दोलन रोकिएको छैन, जारी छ’ उनले भने।

विमानस्थलका लागि आवश्यक जग्गाको टुंगो नलागेकाले उक्त क्षेत्रमा दुई आर्थिक वर्षदेखि कुनै विकास निर्माणका काम भएका छैनन्। धनगढी उपमहानगरपालिका लगायत विकासे अड्डाहरुले विमानस्थलले जग्गा अधिग्रहण गर्ने भन्दै विकास निर्माणका योजना दिने गरेका छैनन्। उक्त क्षेत्रमा विकास निर्माण नुहने, घर–जग्गा बैँकले धितोमा नराख्ने र घर–जग्गा बिक्रीसमेत हुने गरेको छैन। सबै क्षेत्रको कारोबार बन्द भएपछि स्थानीयको आयस्तरवृद्धिसमेत रोकिएको छ। सरकारले विमानस्थलका लागि आवश्यक जग्गा अधिग्रहणको कुनै निर्णय नगर्दा हैरान खेप्नु परेको स्थानीय हरिदत्त भट्टले बताए। ‘तराईमा घर बनाउला भनेर पहाडबाट सबै जग्गा जमिन बिक्रि गरेर आयौं। तर यता न उताको भइयो। दुई वर्ष भयो हामी यसरी नै भौतारिएको’ उनले भने।

विमानस्थललाई आवश्यक पर्ने जग्गा अधिग्रहणको सवालामा सरकार मौन बसेका बेला जग्गा कारोबारी भने सल्बलाएका छन्। केही दिन अगाडि मात्रै अज्ञात समूहले उक्त क्षेत्रमा रेखांकनसहित पिल्लर गाड्दा पनि सम्बन्धित निकाय अनभिज्ञ छन्। जग्गा धनीहरु भने आक्रोशीत छन्। विमानस्थल कार्यालय घेराउ गरेका उनीहरुले जग्गा अधिग्रहणको निर्णय तत्काल गर्न माग गर्दै आएका हुन्। 

व्यक्तिगत जग्गामा पिल्लर गाढ्नेको पहिचान नभएको भन्दै उनीहरु विभिन्न निकाय धाउन थालेका छन्। तर सरोकारवाला निकायले बेवास्ता गर्दै आएको स्थानीय लोकराज भट्टले बताए। ‘सुरुवातमा त सरकारले हाम्रो आवाज सुन्नुपर्छ,’ उनले भने, ‘अझै हामीलाई अन्यौलमा पारेपछि हामी गुहार आन्दोलनको घोषणा गर्ने तयारीमा छौं।’

कानूनी रुपमा विमानस्थललाई आवश्यक पर्ने जग्गा अधिग्रहणको निर्णय समेत भएको छैन। धनगढी विमानस्थलको विस्तृत योजना प्रतिवेदन (डीपीआर) अनुसार आवश्यक जग्गाको क्षेत्रफल पनि सार्वजनिक गरिएको छैन। विमानस्थलका लागि जग्गा अधिग्रहणको निर्णय नभएकाले अझै समय लाग्ने निश्चित छ। 
 

रोशन भट्ट दिनेश खवरका संवाददाता हुन। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस