धनगढी विमानस्थल छेउमा जग्गा कब्जा गर्न खोज्नेको पहिचान भएन, प्रशासन मौन
धनगढीः धनगढी विमानस्थललाई विस्तार गर्न आवश्यक पर्ने जग्गा अधिग्रहण हुने विषय बहसमा आएको दुई वर्ष भयो। दुई वर्ष यता उक्त क्षेत्रका स्थानीयको दैनिकी तनावपूर्ण बनको छ। कति र कहाँसम्म जग्गा अधिग्रहण हुने विषयमा आधिकारीक निर्णय नभएकै कारण विमानस्थल वरपरका समुदायले विभिन्न समस्या भोग्नु परेको छ।
त्यो समस्या त्यत्तिकैमा टुंगिइएन। पछिल्लो पटक उक्त क्षेत्रका स्थानीयको जग्गामा अज्ञात समूहले रेखांकनसहित पिल्लर गाढेको छ। उक्त पिल्लर कसले गाढ्यो भन्ने जानकारी कुनै पनि निकायसँग छैन। पिल्लर बिक्री गर्ने पाण्डे कन्ट्रक्सनका सञ्चालन राजु पाण्डेले समेत आफुले कसैलाई नचिनेको दाबी गरेका छन्। ‘जग्गा अधिग्रहणको हल्ला चलिरहेको छ। उनीहरुले पनि मन्त्रालयबाट आएको जस्तो कुरा गरे। मलाई पनि होला जस्तो लाग्यो। मैले पिल्लर मात्रै बेचेको हुँ। उनीहरु मेरो सम्पर्कमा पनि छैनन्’ उनले भने।
धनगढी उपमहानगरपालिकाको वडा नम्बर १३ मा रहेको पाण्डे कन्ट्रक्सनबाट ४ जनाको समूहले ८ वटा पिल्लर खरिद गरेको बुझिएको छ। सञ्चालक पाण्डेले भने उक्त समूहका कसैलाई पनि नचिनेको दाबी गरेका छन्। विमानस्थल वरपरका स्थानीयले भने सोही कामको विरुद्धमा आन्दोलन समेत गरेका छन्। सोमबार मात्रै भेला भएका स्थानीयले धनगढी विमानस्थलको कार्यालय घेराउ गरेका थिए। त्यति गर्दापनि पिल्लर गाढ्नेको पहिचान गरेर कारबाही गर्न बेवास्ता हुन थालेको गेटाका स्थानीय लोकराज भट्टले बताए। ‘यसमा ठूलै मान्छेको संलग्नता हुनुपर्छ। त्यही भएर होला कारबाही गर्न बेवास्ता भइरहेको’ उनले भने।
पछिल्लो पटक संस्कृती, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेले जग्गा अधिग्रहणको विषयलाई टुङ्गोमा पुगाउने दाबी गरेका थिए। तर मन्त्रालयबाट भने अहिलेसम्म पनि औपचारीका प्रक्रिया सुरु भएको छैन। तर जग्गा कारोबारीहरु सक्रिय रहेको आशंका गरिएको छ।
स्थानीयलाई त्रासमा पारेर सस्तोमा जग्गा बिक्री गर्न लगाउने र सरकारी मुआब्जा आफू राख्ने दाउमा जग्गा कारोबारीको समूह देखिएको आशंका गर्न थालिएको छ। तर कैलालीका प्रमुख जिल्ला अधिकारी किरण थापाले भने जग्गा अधिग्रहणको विषय सुरु नभएको बताए। ‘पिल्लर गाढेको सवालमा स्थानीय आफैले चनाखो बन्नुपर्छ। सबै ठाउँमा प्रहरी पठाउन सकिन्न’ उनले भने।