धनगढी गेटाका स्थानीय आन्दोलित, विमानस्थल घेराउ
धनगढीः धनगढी विमानस्थल वरपरको जग्गामा अज्ञात समूहले रेखाङ्कनसहित पिल्लर गाढेपछि स्थानीय आन्दोलित भएका छन्। अज्ञात समूहले विमानस्थल वरपरको क्षेत्रमा जग्गाधनीलाई जानकारी नै नगराइ रेखाङ्कनसहित पिल्लर गाढेपछि उनीहरु आन्दोलनमा उत्रिएका हुन्।
पिल्लर गाढेको घटनाको जिम्मेवारी पनि कुनै निकायले नलिएका कारण जग्गा कारोबारीहरु सल्बलाएको आशंका स्थानीयको छ। यो अवधिमा जग्गा अधिग्रहण गर्ने बहसले पनि स्थानीयलाई चिन्तित तुल्याएको छ। नागरिकको आँखामा छारो मात्र हालिएको भन्दै स्थानीय झनै आक्रोसित भएका हुन्। उक्त क्षेत्रका स्थानीयले सोमवार नाराबाजीसहित विमानस्थल कार्यालय घेराउ समेत गरेका छन्। अधिग्रहणको विषयमा तत्काल निर्णय नगरे थप आन्दोलन गर्ने चेतावनी विमानस्थल क्षेत्रका नागरिकको छ।
विमानस्थललाई विस्तार गर्ने योजनाले चर्चा पाएको लामो समय भयो। तर पछिल्लो पटक भने दुई वर्ष अगाडि तत्कालिन संस्कृती, पर्यटन तथा नागरिक उड्डयान मन्त्री योशेग भट्टराईले धनगढीमै पुगेर विमानस्थललाई अन्तर्राष्ट्रिय बनाउने घोषणा गरेका थिए। उक्त घोषणासँगै आवश्यक पर्ने जग्गा अधिग्रहणको सवाल पनि उत्पन्न भएको थियो। अधिग्रहणकै बहसले पछिल्लो २ वर्ष यता उक्त क्षेत्रमा न त जग्गाको खरिद बिक्रि भएको छ न त बैँकले कारोबार गर्न मानेको छ।
योसँगै विकास निर्माणका कामले पनि उक्त क्षेत्रमा गति लिन सकेको छैन। सरकारले अधिग्रहणको विषयलाई अनिर्णयको बन्दी बनाएकै कारण उक्त क्षेत्रका स्थानीयको बिचल्ली भएको गेटाका स्थानीय लोकराज भट्टले बताए। ‘विमानस्थल बन्छ भने हामी सहयोग गर्न तयार छौं,’ उनले भने, ‘तर जग्गा कब्जा गर्ने गरि पिल्लर गाढेको विषयमा सम्बन्धित निकाय मौन बस्न मिल्दैन।’
जग्गा नै कब्जा गर्ने नियतले गरिएको रेखाङ्कनले स्थानीयमा त्रास उत्पन्न भएको छ। तर जिम्मेवार निकायले भने उक्त घटनालाई गम्भीर रुपमा नलिएको गुनासो गरिएको छ। विमानस्थल कार्यालयले भने उक्त पिल्लर गाढ्नुमा आफ्नै कुनै भूमिका नरहेको दाबी गर्दै आएको छ। विमानस्थलका कार्यालयका प्रमुख रामकृष्ण भट्टले आफ्नो भूमिका नरहेको दावी गरे। ‘हाम्रो जग्गा अधिग्रहण गर्ने प्रक्रिया सुरु भएको छैन,’ उनले भने, ‘यसमा आत्तिनुपर्ने केही छैन।’ तर उक्त क्षेत्रमा पिल्लर गाढ्नेको खोजी नीति गर्न भने स्थानीय प्रशासनले बेवास्ता गरेको छ।