धनगढी विमानस्थाल वरपर जग्गामा रेखाङ्कन गर्दै कस्ले गाढ्यो पिल्लर ?
धनगढीः धनगढी उपमहानगरपालिका वडा नम्बर १३ का जंगीलाल रानाको गेटामा अढाई विघा जग्गा छ। उक्त जग्गा धनगढी विमानस्थलको पूर्वपट्टी पर्छ। विगतदेखि नै उक्त क्षेत्रमा जग्गा अधिग्रहण हुने चर्चा पनि चलिरहेका छ।
तर स्थानीयलाई जानकारी नै नदिई रानासहितका अधिकाशंको जग्गामा रेखाङ्कनसहित पिल्लर गाढिएको छ। ‘मेरो जग्गामा पिल्लर गाढिएको छ,’ रानाले भने, ‘यस विषयमा मलाई कुनै जानकारी छैन।’ विमानस्थलकै पूर्वपट्टी नै मोली रानाको जग्गा पनि पर्छ। उनको खेतमा पनि जंगीलालकै जसरी पिल्लरसहित रेखाङ्कन गरिएको छ।
तर उक्त विषयमा मोलीलाई पनि कुनै जानकारी छैन। विगतदेखि नै उपभोग गर्दै आएका जग्गा अपरिचित व्यक्तिले कब्जा गर्न खोजेको आरोप उनको छ। ‘यो क्षेत्रमा मेरो ८ कट्ठाभन्दा बढी जग्गा छ,’ उनले भने, ‘मेरो जग्गामा पिल्लर गाढिएको विषयमा कसैलाई कुनै खबर छैन।’
उपमहानगरकै वडा नम्बर १३ का भोजराज शर्माको घरसहितको जग्गामा पिल्लर गाढिएको छ। उनीसँगै लक्ष्मीनगरका ६५ परिवारको घर रेखाङ्कन भित्र परेको छ। तर कुनै पनि स्थानीयलाई उक्त विषयमा जानकारी नभएपछि चिन्ता उत्पन्न भएको शर्माले बताए। ‘लक्ष्मीनगरका ६५ परिवारको घरसहितको जग्गामा रेखाङ्कन गरिएको छ,’ उनले भने, ‘कसले के गर्न खोजेको हो ? जानकारी त हुनुपर्छ। यसले हामीलाई चिन्तित बनाएको छ।’
अहिले विमानस्थल कायम रहेको क्षेत्रभित्र पूर्वपट्टीको सम्पूर्ण जग्गामा रेखाङ्कन गरिएको छ। धनगढी विमानस्थलका लागि जग्गा अधिग्रहण गर्ने विषय विगतदेखि नै चर्चामा छ। तर पछिल्लो पटक जग्गा कब्जा गर्ने नियतले रेखाङ्कन गरिएको स्थानीयको गुनासो छ। जग्गाको कारोबारीले सरकारले दिने मुआब्जाभन्दा सस्तोमा स्थानीयसंग जग्गा खरिद गर्ने नियतका कारण रेखाङ्कनसहित पिल्लर गाढिएको आशंका गेटाका स्थानीय लोकराज भट्टको छ।
‘यस विषयमा हामीले सबै निकायलाई सोध्न खोज्यौं,’ उनले भने, ‘स्थानीयको जग्गामा पिल्लर गाढीएको बारे कसैलाई थाँहा छैन।’ विमानस्थलका लागि आवश्यक पर्ने जग्गा अधिग्रहणको प्रक्रिया पनि सुरु भएको छैन। विमानस्थलको गुरुयोजना समेत पास नभएका कारण उक्त प्रक्रिया सुरु नभएको हो। तर उक्त क्षेत्रमा कसले पिल्लर गाढ्यो भन्ने प्रश्नको जवाफ कुनै निकायसँग छैन।
गेटा विमानस्थलका प्रमुख रामकृष्ण भट्टले पनि प्रधिकरणको तर्फबाट कुनै पनि काम सुरु नभएको बताए। ‘स्थानीयको गुनासोपछि मैले मन्त्रालयमा बुझे,’ उनले भने, ‘अहिलेसम्म कुनै पनि प्रक्रिया सुरु भएको छैन। गुरुयोजना पनि पास भएको छैन। त्यसपछि मात्रै जग्गा अधिग्रहणको प्रक्रिया सुरु हुन्छ।’ जग्गा अधिग्रहण हुने चर्चाकै कारण विगतदेखि नै हैरानी खेप्दै आएका स्थानीय अहिले थप त्रसित भएका छन्।