सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा प्रहरी हिरासतमा किन हुन्छ थुनुवाको मृत्यु ?

२०७८ मंसिर २९, ०८:४१ रोशन भट्ट

धनगढी : ०७७ भदौँ २६ गते जिल्ला प्रहरी कार्यालयको थुननुवा कक्षमा धनगढीका १९ वर्षीय युवक रोशन बिकको मृत्यु भयो। त्यसको केही दिन अगाडि चोरी मुद्धामा पक्राउ परेका बिकको प्रहरीको लापरबाहीका कारण थुनामै ज्यान गएको पीडित परिवारले आरोप लगाउदै आएका छन्। 

प्रहरीले आत्महत्या भन्दै आए पनि परिवारले भने उक्त घटनाको छानबिन गर्न माग गरेको थियो। त्यसपछि प्रदेश प्रहरी कार्यालयको नेतृत्वमा छानबिन भयो। छानबिन टोलीले समेत आत्महत्या नै भएको निष्कर्ष निकालेको छ। 

तर प्रहरीको छानबिनमाथि विश्वस्त नभएको मृतकका बुवा टेकबहादुर कामीले बताए। ‘प्रहरी हिरासतभित्र धेरै मान्छे हुन्छन्, आत्महत्या कसरी हुन सक्छ,’ उनले भने, ‘यसमा प्रहरीको गम्भीर लापरबाही भएको देखिन्छ। हामीलाई चित्तबुझ्ने छानबिन पनि भएको छैन।’ 

२०७७ साउन २७ गते पनि धनगढी उपमहानगरपालिकाको फुलबारीमा रहेको सीमा प्रहरी चौकीमा एकजना मृत फेला परे। फुलबारीकै अमरबहादुर चन्द प्रहरीको नियन्त्रणभित्रै मृत फेला परेपछि पीडित परिवारले प्रहरीका विरुद्ध आन्दोलन समेत गरेको थियो। 

इलाका प्रहरी कार्यालय टीकापुरमा पनि गत असोज २५ गते एकजना थुनुवाको ज्यान गएको थियो। भैँसी चोरेको आरोपमा पक्राउ परेका सुर्खेतका ३५ वर्षीय धनबहादुर रानाको प्रहरी हिरासत भित्रै ज्यान गएको थियो। यी घटनाहरुमा प्रहरीको गम्भीर लापरबाही भएको आरोप पीडित परिवारको छ। प्रहरीले भने सबै घटनामा आत्महत्या भएको निष्कर्ष निकालेको छ। 

प्रहरीले हिरासत भित्रै ज्यान गुमाएका घटनाको छानबिन हुने गरेको दाबी गर्दै आएको छ। तर पीडित परिवार भने प्रहरीको निष्कर्षमाथि विश्वास गर्ने पक्षमा छैनन्। यता प्रहरी अनुसन्धानले कैलालीमा घटेका सबै घटनामा आत्महत्या भएको देखाएको छ। अपराध पुष्टि भएपछि समाजमा बस्न नसकिने मानसिकताका कारण केहीले आत्महत्याको बाटो रोज्ने गरेको धारण प्रहरीको छ। 

यता जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले भने सबै घटनामा आत्माहत्या भएको बताए। ‘अपराध पुष्टि भएपछि समाजमा बस्न नसकिने मानसिकताका कारण पनि केहीले आत्महत्याको बाटो रोजेका छन्,’ उनले भने, ‘पछिल्लो समयमा हामीले हिरासत कक्षभित्र पनि सचेत गराउने गर्छौं।’ 

घटनाको छानबिन भएपछि केही प्रहरी कर्मचारीलाई भने कारबाही भएको छ। घटना भएको समयमा ड्युटीमा खटिएका प्रहरी कर्मचारीलाई विभागिय कारबाही भएको कैलाली प्रहरीले जनाएको छ।

रोशन भट्ट दिनेश खवरका संवाददाता हुन। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस