सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढी विमानस्थलका लागि जग्गा अधिग्रहणको प्रक्रिया अझै सुरु भएन

२०७८ मंसिर १४, ०६:३२ रोशन भट्ट

धनगढीः धनगढीको गेटा विमानस्थलका लागि आवश्यक जग्गा अधिग्रहणको प्रक्रिया अझै सुरु भएको छैन। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले जग्गा अधिग्रहणको विषय छिट्टै समाधान गर्ने घोषणा गरे पनि प्रक्रिया अगाडि बढ्न सकेको छैन।  विगतदेखि नै गुरुयोजनामा परेको जग्गा अधिग्रहणको विषयमा ठोस निर्णय गर्न ढिलाई भइरहेको छ। यसअघि तयार पारिएको योजनामा ३ सय ११ बिघा जग्गा आवश्यक पर्ने भनिएको छ। तर विमानस्थलसँग ८३ बिघा जग्गा मात्रै छ। बाँकी २ सय २८ बिघा जग्गा अधिग्रहण गर्नुपर्ने गेटा विमानस्थलका प्रमुख रामचन्द्र भट्टले बताए। ‘क्यान बोर्डमा फाइल तयार भएको छ, मन्त्रालयमा पेश भएको छैन। मन्त्रिपरिषद्बाट उक्त फाइल पास भएपछि मात्रै काम अगाडि बड्छ’ उनले भने। 

सोमबार मात्रै फेरि मन्त्री आलेले विमानस्थलमै पुगेर जग्गा अधिग्रहणको विषयलाई किनारा लगाउने घोषणा गरेका छन्। तर गुरुयोजनामा अटाएको उक्त जग्गा अधिग्रहणको फाइल मन्त्रालयमै पुग्न सकेको छैन। मन्त्रालय हुँदै मन्त्रिपरिषदबाट पास भएपछि मात्रै काम सुरु हुनेछ। गुरुयोजनाको फाइल मन्त्रिपरिषदबाटपास भएपछि मात्रै काम अगाडि बढ्ने भएपनि मन्त्री आलेको ध्यान भने त्यतर्फ जान सकेको छैन। 

यस्तै बजेट समेत पास नभएका कारण विमानस्थलको निर्माणमा थप अन्यौलता सिर्जना भएको छ। तर अबको एक हप्ता १० दिनभित्रै बजेट पास हुने दाबी गरिएको छ। उक्त बजेटमा जग्गा अधिग्रहणको विषय पर्नेमा भने एकिन हुन सकेको छैन। नागरिक उड्डयन प्रधिकरणका प्रवक्ता चन्द्रलाल कर्णले भने बजेट पास भएपछि मात्रै यो विषयमा बोल्ने बताए। ‘बजेट पास हुने क्रममा छ। बजेट जग्गा अधिग्रहणको विषय परेपछि काम हुन्छ। नभए अर्को वर्ष काम हुन्छ’ उनले भने। 

विमानस्थलको जग्गाकै विषय नटुङ्गिदा स्थानीयलाई भने समस्या भएको छ। न त उक्त स्थानमा नयाँ संरचना निर्माण हुन थालेका छन् न त जग्गा बिक्री भइरहेको छ। बैंकले पनि सो ठाउँको जग्गा कारोबार गर्न नमानिरहेको स्थानीलयले गुनासो गरेका छन्।     
 

रोशन भट्ट दिनेश खवरका संवाददाता हुन। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस