सुदूर नेपाललाई विश्वसँग जोड्दै

ज्यानमारा बन्दै कैलालीको पूर्वपश्चिम राजमार्ग

२०७८ मंसिर १३, ०६:१४ रोशन भट्ट

धनगढीः सोमबार बिहान ट्रकको ठक्करबाट कैलालीको गोदावरी नगरपालिका स्याउलेका १९ वर्षीय नरेश देउवाको मृत्यु भयो। स्याउले चोकस्थित पूर्वपश्चिम राजमार्गमा ट्रकको ठक्करबाट पैदल यात्री देउवाको मृत्यु भएको हो। यस्तै मंसीर १२ गते राति कैलालीमा मोटरसाइकल दुर्घटनामा परी घोडाघोडी नगरपालिका वडा नम्बर १ का २० वर्षीय रुद्र बोहराको मृत्यु भयो। उता जिल्लाको घोडाघोडी नगरपालिका ५ डोकेबजारमा शनिबार ट्रकको ठक्करबाट मोटरसाइकल चालक बसन्तराज शर्माको पनि मृत्यु भयो। 

मंसिर ९ गते पनि पूर्वपश्चिम राजमार्गअन्तर्गत लम्कीमा ट्रकको ठक्करबाट टीकापुर नगरपालिका वडा नम्बर २ की ४० वर्षीया गोमा थापाको घटनास्थलमै मृत्यु भएको थियो। पछिल्लो ५ दिनमा मात्रै दुर्घटनामा परी चार जनाको मृत्यु भएको छ। 

यसरी दैनिकजसो दुर्घटना निम्तिनुमा सरोकारवाला निकायकै उदासिनता रहेको स्याउलेका स्थानीय रमेश बोगटीले बताए। ‘सरकार पक्ष, प्रशासन र चालकको लापरबाही देखिएको छ। बजार क्षेत्रमा गति कम नहुँदा पनि दुर्घटना भएका छन्’ उनले भने। 

यस अगाडि दुर्घटना न्यूनिकरण गर्नका लागि विभिन्न योजनाहरु सार्वजनिक गरिएको थियो। तर कार्यान्वयन नहुँदा पूर्वपश्चिम राजमार्ग नै ज्यानमारा बन्न थालेको छ। कतिपय स्थानमा सडक वारापर गर्नेकै कमजोरीका कारण पनि ज्यान गइरहेको गौरीगंगा नगरपालिका वडा नम्बर ९ का वडाध्यक्ष हरी तिवारीले बताए। ‘राजमार्ग क्षेत्रमा प्रहरीको सक्रियता पनि देखिएको छैन। सरोकारवाला सबैले निकायले यसमा गम्भीर हुन आवश्यक छ’ उनले भने।

राजमार्ग क्षेत्रमा दिनप्रति दिन दुर्घटना हुनुको कारण पत्ता लगाएर न्यूनिकरण गर्नतर्फ भने सम्बन्धित निकायको ध्यान जान सकेको छैन। अधिकांश घटनामा चालककै कमजोरी देखाइने गरिएको छ। तर सडकको अवस्थाबारे बहस नै हुने गरेको छैन। ट्राफिक नियम उल्लंघन गर्नेलाई जरिमाना मात्रै काट्दा दुर्घटना झन बढेको पनि आरोप लाग्ने गरेको छ। तिब्र गतिकै कारण दुर्घटना भइरहेको स्वीकार गर्ने प्रहरीले कारबाही गर्न भने बेवास्ता गरिरहेको आरोप लागेको छ। पूर्वपश्चिम राजमार्ग क्षेत्रको अधिकांश ठाउँमा ट्राफिक पोष्टहरु छन्। तर नियम उल्लघंन गर्ने सवारी माथि निगरानी गरेको भने देखिएको छैन। 

जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी निरीक्षक वकिल सिंहले भने कडाइका साथ अगाडि बढ्ने बताएका छन्। ‘राजमार्गका यूनिट प्रमुखलाई पनि कडा निगरानी गर्न निर्देशन दिएको छु,’ उनले भने, ‘आफु पनि नयाँ योजनाका साथ अगाडि बढ्ने तयारीमा छु।’

रोशन भट्ट दिनेश खवरका संवाददाता हुन। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस