सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीको हाट बजारबाट संकलन हुने लाखौं रकम हिनामिना

२०७८ मंसिर ११, १०:५६ रोशन भट्ट

धनगढीः धनगढीको त्रिनगर कृषि उपज हाटबजार त्रिनगर माध्यमिक विद्यालयको जग्गामा सञ्चालन भएको छ। जम्मा आम्दानीको ७० प्रतिशत विद्यालयलाई उपलब्ध गराउने सम्झता अनुसार उक्त स्थानमा हाटबजार सञ्चालन भएको थियो। १० वर्ष सम्मका लागि हाट बजारबाट शुल्क उठाउने जिम्मा सिर्जनशिल समाजको सिर्जना(सीसीएस) नामक संस्थाले पाएको छ। धनगढी उपमहानगरपालिकाले पनि उक्त स्थानमा भौतिक संरचना निर्माण गरेको छ। त्यसकारण हाटबजार सञ्चालनका लागि त्रिपक्षिय रुपमा सम्झौता भएको छ। 

तर सीसीएसले उपमहानगरसँगको मिलेमतोमा अनियमितता गरेको त्रिनगर माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रेम विसीको छ। ‘त्यति धेरै पैसा उठ्छ कहाँ जान्छ त्यो ?’, उनले प्रश्न गर्दै भने, ‘उपमहानगरले पनि सीसीएसलाई सहयोग गर्दै छ। विद्यालयलाई चासो दिएको छैन।’

हाल त्रिनगर कृषि उपज हाटबजारभित्र एक सय ४० स्टल निर्माण भएका छन्। १० वटा सटरहरु समेत रहेको हाटबजारभित्र दर्जन बढी ठेलासमेत छन्। जुत्ता चप्पलसहित कपडा व्यपारी पनि हाटबजार भित्र सामान बिक्रि गरेबाफत सीसीएसलाई शुल्क बुझाउदै आएका छन्। 

एक हजार बढी किसान सूचिकृत भएको बजारमा व्यापारीको पनि सहभागिता हुने गरेको त्रिनगर कृषि उपज हाटबजार व्यवस्थापन समिति अध्यक्ष भवानसिंह चैसिरले बताए। ‘हाटबजार भित्र बिक्रि गर्ने सबैले शुल्क बुझाउनुपर्छ। चाहे किसान होस्, वा व्यपारी’ उनले भने।

सीसीएसले नै दिएको जानकारी अनुसार एक दिनमा हाट बजारमा ५ हजारभन्दा बढी रकम संकलन हुने गरेको छ। हाटबजार हप्ताको तीन दिन र महिनाको कम्तीमा १२ दिन सञ्चालन हुने गरेको छ। जसबाट सीसीएसले मासिक ६० हजार बढी रकम संकलन गर्दै आएको छ। बजारभित्र १० वटा सटरसमेत सञ्चालनमा छन्। मासिक ५ हजारका दरले उक्त सटर पनि भाडामा दिइएको छ। सटरको ५० हजार र हाटबजारबाट संकलन हुने ६० हजार गरी मासिक एक लाख १० हजार संकलन हुने गरेको छ भने वार्षिक रुपमा १३ लाख २० हजार आम्दानी हुने गरेको छ। 

तर उपमहानगरले भने नितिगत रुपमै सीसीएसलाई चालू आर्थिक वर्षमा ७ लाख ६७ हजार मात्रै बुझाउन भनेको छ। सीसीएसका अध्यक्ष प्रकाश विष्टले पनि एक हाटबजारको ५÷६ हजार संकलन हुने गरेको बताए। ‘सटरको ५ हजारका दरले सम्झौता भएको छ,’ उनले भने, ‘अहिले कोरोनापछि कम छ। पहिलो हुन्थ्यो यति।’ 

उक्त हाटबजार त्रिनगर माध्यमिक विद्यालयको १६ कट्टा बढी जग्गामा सञ्चालनमा छ। 
 

रोशन भट्ट दिनेश खवरका संवाददाता हुन। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस